Logo

राससको आमूल परिवर्तन आवश्यकः अध्यक्ष श्यामल



भीमदत्तनगर, २९ साउन । राष्ट्रिय समाचार समिति राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले राससलाई पुनर्जीवन दिन र विश्वसनीय सञ्चारमाध्यमका रुपमा विकास गर्न आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरमा रहेको रासस प्रदेश नं ७ को कार्यालयको आज बिहान निरीक्षणका क्रममा अध्यक्ष श्यामलले राससको सुधारका लागि सबैको सहयोग आवश्यक रहने बताउनुभयो ।

कार्यालय निरीक्षणपछि कञ्चनपुरका सञ्चारकर्मीसित राससको सेवा प्रवाहका विषयमा छलफल गर्दै अध्यक्ष श्यामलले राससको रुपान्तरणमा सहयोग गर्न आग्रह गर्नुभयो । राससबाट सेवा लिने सञ्चारमाध्यमले इमान्दारी देखाउनुपर्ने उहाँको भनाइ थियो ।

“राससका समाचार अनधिकृत प्रयोग नियन्त्रण गर्न पहल गरेको छु,” उहाँले भन्नुभयो, “विगतमा मुलुकमा अस्थिरताका कारण रासस जीर्ण र रोगी बन्न पुग्यो । अब यसलाई सबै मिलेर गतिशील बनाउनु पर्दछ ।”

सो अवसरमा प्रदेश नं ७ का पत्रकार एवं कान्तिपुर दैनिकका प्रदेश प्रमुख चित्राङ्ग थापाले राससले कुशल नेतृत्व पाएको बताउँदै अध्यक्ष श्यामललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

“रासस पत्रकारिताको पाठशाला हो”, वरिष्ठ पत्रकार थापाले भन्नुभयो, “राससलाई नयाँ गति दिनुहोस्, नेतृत्वलाई शुभकामना ।” उहाँले मिडियामा राजनीति हावी भएको प्रति चिन्तासमेत व्यक्त गर्नुभयो । छलफलमा रासस प्रदेश सहसंयोजक प्रकाश सिलवाललगायतको सहभागिता रहेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot