Logo

प्रकाण्ड हिराईको बन्द: आगजनी र बिस्फोट



काठमाडौं । नेकपा माओवादीका प्रवक्ता खड्क बहादुर विश्वकर्मा पत्रकाउ परेको बिरोधमा विप्लव माओवादीले आह्वान गरेको नेपाल बन्दको देशका विभिन्न ठाउँमा प्रभाव परेको छ । आफ्नो पार्टीका प्रवक्ता प्रकाण्ड सहित नेता तथा कार्यकर्ताहरुलाई सरकारले पक्राउ गरेको बिरुद्ध विप्लव माओवादीले बन्दको घोषणा गरेको थियो ।

बन्दका कारण राजधानी लगायत देशका विभिन्न स्थानमा आंशिक प्रभाव परेको छ । कतिपय ठाउँमा यातायातका साधनमा आगजनी गरिएको छ भने कतै बम विस्फोट गराइएको पाइएको छ ।

झापाको गौरादह नगरपालिका-७ वडा कार्यालय नजिक बम विष्फोट भएको छ । विष्फोटबाट कार्यालयको झ्यालको सिसा फुटेको छ भने पर्खालमा सामान्य क्षति भएको छ ।

बिहान करिब ६ बजेतिर मकवानपुरको टिष्टुङमा स्कूल बसमा आगजनी गरिएको छ । स्कुल बस आगलागीबाट पूर्ण रुपमा क्षति भएको जनाइएको छ ।

पूर्वी नवलपरासीको गैंडाकोटस्थित भृकुटीचोकमा आज बिहान ट्रकमा आगजनी गरिएको छ । ना २ ख २५४८ नम्बरको ट्रकमा आगजनी हुँदा पराल जलेर नष्ट भएको छ । समयमै प्रहरीले आगो नियन्त्रण गरेकाले ट्रकमा क्षति हुन नपाएको जनाइएको छ ।

बुटवलस्थित भारतीय भूतपूर्व सैनिक क्याम्पमा बिष्फोट भएको छ । बिष्फोटबाट क्याम्पको शौचालयमा क्षति भएको छ ।त्यस्तै हेटौँडाको नवलपुरमा प्रेसरकुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।

ललितपुरको ग्वार्कोस्थित गुण सिनेमा नजिकै, बटुकी भैरब मन्दिर अगाडि, नैकाप उकालोमा, धर्मस्थली, बल्खु र सतुंगलमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको छ ।

विप्लव कार्यकर्ता पक्राउ

प्रहरीले काठमाडौंको जमलमा प्रेशर कुकर बमसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य उषा किरण आजाद र अनेमसंघ क्रान्तिकारी उपत्यका सचिव तारा सञ्जेल राउत रहेको जनाइएको छ ।

झापाको दमकबाट सोमबार बिहान विप्लव समूहका २ कार्यकर्ता पक्राउ परेका छन् । पर्चा बाँड्दै गरेको अवस्थामा ताप्लेजुङका २५ वर्षीय असल लिम्बू र २६ वर्षीय राजु दासलाई प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले गोदावरी नगरपालिका लेले बस्दै आएका कुमार सिलवाल, चापागाउँ बस्ने चन्द्र परियार र महालक्ष्मी नगरपालिकाको लुभु बस्ने जयराम श्रेष्ठलाई पक्राउ गरेको छ । प्रहरीले देशका विभिन्न क्षेत्रमा बन्द गराउँदै हिड्ने व्यक्तिहरुलाई पक्राउ गरिरहेको र सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्