Logo

पुस्तक व्यवस्थापनमा समस्या



काठमाडौँ, २९ साउन । त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय पुस्तकालयको मर्मत तथा पुनःनिर्माणमा ढिलाइ हुँदा पुस्तक व्यवस्थापनमा समस्या देखिएको छ ।

विसं २०७२ को भूकम्पले पुस्तकालय भवन क्षतिग्रस्त भएको थियो । पुस्तकालय पुनःनिर्माण समयमै नहुँदा किताब, पत्रपत्रिका तथा पुराना संगृहीत पाठ्य सामग्री अव्यवस्थित छन् । भूकम्पका कारण केही महिना पुस्तकालय बन्द भएको थियो । छानाबाट पानी चुहिने तथा मुसा, कीराले किताब काट्ने समस्या बढ्दै गएको छ ।

विसं २०१६ मा स्थापना भएको त्रिभुवन विश्वविद्यालय परिसरको कीर्तिपुरको केन्द्रीय पुस्तकालयमा करीब चार लाख पुस्तक सङ्ग्रह गरिएको पुस्तकालयका प्रमुख इन्द्रप्रसाद अधिकारीले जानकारी गराएका छन। साहित्य, भाषा, संस्कृति, इतिहास, दर्शन, विज्ञानका पुस्तक, अन्तराष्ट्रिय जर्नल, पत्रपत्रिकालगायत सङ्कलन गरिएको छ ।

पुस्तकालयलाई विभिन्न मुलुकले अन्तर्राष्ट्रिय पुस्तक उपहारस्वरुप प्रदान गर्ने क्रम जारी छ । चिनियाँ दूतावासले हालै ६६४ थान पुस्तक उपहार प्रदान गरेको छ ।

चिनियाँ लेखकले लेखेका अन्तर्राष्ट्रिय महत्वका पुस्तक, नेपालीमा अनुवाद भएका किताब, चीनको तिब्बतः विगत र वर्तमान, तिब्बत चीनको सामाजिक इतिहास अभिलेख एवं चित्रसहित, सी चिनफिङ चिनको शासन व्यवस्थालगायत पुस्तक पुस्तकालयलाई प्रदान गरिएको छ । यसअघि दक्षिण कोरीयाले २६६ थान पुस्तक प्रदान गरेको छ ।

आन्तरिक पुस्तक व्यवस्थापनमा चुनौती भइरहेका बेला विभिन्न देश तथा संस्थाबाट आएका पुस्तक र कृति व्यवस्थापनमा समस्या भएको प्रमुख अधिकारीले बताए।

सुन्दर, शान्त वातावरणको त्यस क्षेत्रमा पाठ्य सामग्री, विविध सन्दर्भ सामग्री काठ र फलामका दराजमा राखिएको छ । प्राचीन महत्वका करीब ५०० पुस्तक, हस्तलिखित ग्रन्थका साथै करीब २० हजार शोधपत्र पुस्तकालयमा सुरक्षित छन् । केही शोधपत्रलाई वेबसाइटमा राख्न थालिएको छ ।

पुस्तकालयमा जडान गरिएको विद्युतीय प्रविधि तथा सिसी टिभीका कारण अहिले किताब हराउने समस्या छैन । दक्ष प्राविधिक र अन्य जनशक्तिको अभावले अत्याधुनिक सेवा सहजरुपमा उपलब्ध हुन सकेको छैन । विद्यार्थीलाई इन्टरनेट उपलब्ध छ भने स्वदेशी तथा विदेशी पाठकले सेवा लिदै आएका छन् ।

सन् २००० देखि पुस्तकालयले स्वदेशबाट प्रकाशित हुने पुस्तकलाई इन्टरनेशनल स्ट्याण्डर बुक आइएसबीन नम्बरसमेत प्रदान गर्दै आएको छ । मुलुकका विभिन्न भागमा सामुदाययिक पुस्तकालय बनाएर समुदायलाई हस्तान्तरण गर्दै आएको रिड नेपालका कार्यक्रम संयोजक चिनकाजी श्रेष्ठले देशको केन्द्रीय पुस्तकालयको मर्मत गरेर त्यहाँ भएका महत्वपूर्ण पाठ्य सामग्रीको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन ।

धेरैलाई ज्ञान बाँडेको सो पुस्तकालयले देशका १४७ शैक्षिक संस्थालाई विद्युतीय पुस्तकालयको सेवा सञ्चालन गर्न दिएको छ । विद्यार्थीलाई रु १५० शुल्क लिएर मासीक १० घण्टा विद्युतीय पुस्तकालय अध्ययनको व्यवस्था मिलाइएको छ ।

कीर्तिपुर नगरपालिकाका उपप्रमुख सरस्वती खड्काले मुलुकमा लामो इतिहास बोकेको पुस्तकालयको संरक्षण गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सोही संस्थाको सहयोगमा नगरपालिकाले छिट्टै विद्युतीय पुस्तकालय सञ्चालनमा ल्याउन लागेको जानकारी गराएका छन।

विश्वविद्यालय अनुदान आयोगबाट विद्युतीय स्रोतसामग्रीका लागि रु ४७ लाख प्राप्त भएको पुस्तकालयले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्