Logo

हत्याका आरोपी द्धारा अदालतमा आत्मसर्मपण



गौशाला, २९ साउन । सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका आरोपी रहेका जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रले आज महोत्तरी जिल्ला अदालतमा आत्मसर्मपण गरेका छन ।

उनिसँगै सोही मुद्दाका आरोपी रहेका राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डेले पनि आज अदालतमा आत्मसर्मपण गरेका छन । उनिहरु दुवैजना आफैँले निवेदन लिएर अदालतमा बिहान १०ः३० बजे आत्मसर्मपण गरेको स्रेस्तेदार रामानन्द अधिकारीले बताएका छन।

महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत प्रनानि विकलाई २०७२ भदौ २५ गते आन्दोलनकारीले जलेश्वर–४ स्थित हटियामा कुटपिट गरी गम्भीर घाइते बनाइएका थिए । घाइते बिकलाई प्रहरीले उद्धार गरी उपचारको लागि जनकपुर लैजाँदै गर्दा महोत्तरी गाउँपालिकामा एम्बुलेन्सबाट थुतेर आन्दोलनकारीले हत्या गरेका थिए ।

उनिहरुले जिल्ला न्यायाधीश ब्रजेशकुमार पोखरेलसमक्ष निवेदन दिएर आत्मसर्मपण गरेका हुन । आफैँ हाजिर भएका प्रमुख मिश्र र सहमहामन्त्री पाण्डेलाई अदालतले आजै थुनछेकको बहस चलाउने भएको उनिहरुका वकिल रमेश पाण्डेले जानकारी गराएका छन ।

यसअघि गत सोमबार सोही मुद्दामा आरोपी रहेका प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा पनि महोत्तरी जिल्ला अदालतमा आफैँ निवेदन दिएर आत्मसर्मपण गरेका थिए भने उनलाई अदालतले साधारण तारेखमा रिहा गरेको थियो ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot