Logo

‘भारतसँग अब विस्तृत सहकार्य गर्नेगरि सम्झौता गर्नुपर्छ’



काठमाडौं, २९ साउन ।एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष एवम् पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले आगामी ३० देखि ४० वर्षभित्र भारत महाशक्ति राष्ट्रमा पुग्ने बताएका छन् ।

भारतको ७२ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘भारत आउने ३० देखि ४० वर्षभित्र अमेरिका र चीनजस्तै महाशक्ति राष्ट्र बन्छ । प्रजातन्त्रमा आस्था राखेर सबै कुरामा भारत महाशक्तिमा पुग्ने देखिएको छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता लोहनीले भारत महाशक्ति राष्ट्र बन्नु नेपालको लागि पनि खुशीको कुरा हुने बताएका छन् । उनले थपे,‘एकातिर चीन र अर्कोतिर भारत छ, भारत र चीनजस्तो ठूला–ठूला अर्थतन्त्र भएका देशका बीचमा नेपाल रहनु सौभाग्यको कुरा हो ।’

उनले भारतसँग नेपालले समझदारी कायम गरेर अघि बढ्नुपर्ने धारणा समेत राखे । उनले भने,‘हामी दुवै राष्ट्र स्वतन्त्र छौं । हाम्रा आ–आफ्नै स्वार्थ छन् । हामीले मिलेर काम गर्नुपर्छ ।’ नेपालले पनि आफ्नो राष्ट्रिय स्वार्थ प्राप्त गर्नेगरि आफ्नो हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने लोहनीको भनाई छ ।
भारत र नेपालबीच असाध्यै प्रगाढ सम्बन्ध भएपनि आर्थिक सम्बन्ध चाहीँ असन्तुलन रहेको उनको गुनासो छ । उनले भने,‘हाम्रो कार्य पद्धतीले गर्दा व्यापार घाटा धेरै छ । नेपालले दक्ष जनशक्ति एक्सपोर्ट गरिरहेको छ । र, चीन र भारतबाट समानहरु ईम्पोर्ट गरिरहेको छ।’
नेपालले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउँदै उनले भने,‘भारतले पनि अब उद्योग तथा उत्पादनमुलक क्षेत्रमा कसरी अघि बढ्न सकिन्छ भनेर नेपाललाई सहयोग गर्नुपर्छ । नेपालमै रोजगारी बढाउनेबारे ओलीजी नेतृत्वको सरकारले विचार पुर्याओस्।’
भारत र नेपालबीचको सम्बन्धमा नयाँ अध्याय सुरु गर्नुपर्ने उनको भनाई छ । उनले भने,‘भारतसँग अब विस्तृत सहकार्य गर्नेगरि सम्झौता गर्नुपर्छ । यतातिर अब हामीले चिन्तन पुर्याउनुपर्छ ।’
नेपालमा प्रशस्त पानी भएकोले पानीको उपभोगपनि दुवै देशलाई लाभ हुनेगरि अगाडि बढाउनुपर्ने लोहनीको भनाई छ । उनले भने,‘आजभन्दा २० वर्ष पहिले मेरै पालामा भारतले नेपाललाई वाटर ट्रान्सपोर्ट दिन्छौं भनिसकेको थियो । बंगलादेशसँगको सिधा पहुँचको लागि पनि भारतले वाटर ट्रान्जिट दिनेबारे त्यतिवेला नै सहमति दिएको थियो ।’ नेपाल–भारत सुरक्षाबारे पनि बोर्डरहरु नियमनदेखि सुरक्षासम्बन्धी भारतका जायज चासोलाई नेपालले सम्बोधन गर्नुपर्ने उनको भनाई छ ।
लोहनीले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा आर्थिक पक्ष बलियो हुनुपर्ने जिकिर गरे । उनले भने,‘दुवै देशको हितलाई केन्द्रमा राखेर हामीले सम्बन्धहरु अघि बढाउनुपर्छ । सरकार ५ वर्षको लागि बनेको छ । यी सबै कामहरु हाँसिल गर्न सरकारलाई सफलता मिलोस्।’



प्रतिक्रिया दिनुहोस्