Logo

पर्यटकको फर्जी उद्धार, १७ कम्पनीलाई कारबाही सिफारिस



काठमाडौं ३० साउन । उच्च हिमाली भेगमा लेक लागेका बिरामीको उपचार खर्च कतिसम्म लाग्ला ? बेंसी झार्दा पनि निको भइहाल्ने यस्ता बिरामी पर्यटकबाट काठमाडौंका प्रतिष्ठित अस्पतालले ६० लाख रुपैयाँसम्म उपचार खर्च बिमाबाट दाबी गरेको तथ्य फेला परेको छ ।

त्यति मात्रै होइन, उद्धारमा संलग्न ट्राभल/टुर, रेस्क्यु एजेन्सीहरूले एकपटक एकजना विदेशी पर्यटकलाई हेलिकप्टरमार्फत उद्धार गर्दा ५० हजार युरो (६३ लाख) रुपैयाँसम्म बिमा दाबी गरेको देखिएको छ । एउटा चार्टर सेवा दिने कम्पनीले २०७२ भदौमा काठमाडौंबाट हुम्लाको सिमाना हिल्सा पुगेर आठ घण्टा हेलिकप्टर उडानबाट एकजना पर्यटक उद्धार गरेबापत २० लाख रुपैयाँ बिमाबाट लिएको पनि भेटियो । तर, छानबिन समितिले त्यस समयमा त्यस कम्पनीले कुनै पनि पर्यटक उद्धार गरेको रेकर्ड फेला पारेन ।
पर्यटकलाई ‘बिरामी’ बनाएर गरिएको हेलिकप्टर उद्धारमा ६० लाखसम्मको उपचार खर्च र ६३ लाखसम्मको उद्धार उडानबापत बिमा दाबी गरिएको देखिन्छ

पर्यटकलाई बिरामी पारेर अस्पताल र हेलिकप्टर कम्पनीले मिलेर विदेशी बिमा कम्पनीबाट रकम कम्ल्याउने यी पर्यटन क्षेत्रका केही उदाहरण मात्रै हुन् । यस्तै विवरणसहित ७ सय पृष्ठको छानबिन प्रतिवेदन यतिबेला पर्यटन मन्त्रालयले थप अनुसन्धान र कारबाहीका लागि प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायत थप चारवटा निकायलाई बुझाएको छ ।

प्रतिवेदनअनुसार नेपाल घुम्न आउने पर्यटकलाई दूषित खाना दिई ‘बिरामी बनाएर’ हेलिकप्टरमार्फत ‘फर्जी उद्धार र उपचार गर्ने’ केही एजेन्सीले हेलिकप्टर कम्पनी तथा अस्पतालसँग मिलेर विदेशी बिमा कम्पनीबाट वर्षौंदेखि करोडौं रुपैयाँ असुल्दै आएको प्रतिवेदनले औंल्याएको छ । विदेशी सञ्चार माध्यममार्फत यस्ता विषयबारे बारम्बार लेख प्रकाशित हुन थालेपछि छानबिन गर्न सरकारले जेठ अन्तिम साता पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले सन् २०१५ देखि २०१८ मेसम्म भएका ७ हजार ५ सय ५५ वटा हेलिकप्टर उद्धार उडानमाथि छानबिन गर्दा यस्तो फर्जी धन्दा खुलेको हो ।
कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot