बनेपा, ३१ साउन । काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पले क्षति पु¥याएको विद्यालयको पुनःनिर्माण सुस्त भएको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि पुनःनिर्माणका काम आधा जति मात्रै सकिएको छ ।
विसं ०७२ को भूकम्पले जिल्लामा क्षति भएका विद्यालय भवन र कक्षा कोठामध्ये आर्थिक वर्ष ०७३-७४ सम्ममा सम्पन्न गर्नुपर्ने २९४ विद्यालयको एक हजार ६१९ कक्षा कोठामध्ये ९६ विद्यालयको ४०९ कक्षा कोठा मात्र निर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाइका शाखा अधिकृत कोपिला ज्ञवालीले बताउनुभयो ।
उहाँका अनुसार प्राधिकरणले ४५ विद्यालयको १५०, शिक्षा विकास तथा समन्वय इकाइले आठ विद्यालयको १८, अन्तर्राष्ट्रिय तथा गैरसकारी संस्थाले ३५ विद्यालयका १७५ र एशियाली विकास बैंक ९एडिबी०ले आठ विद्यालयका ६८ कक्षा कोठा निर्माण गरिसकेको छ ।
जिल्लाको भौगोलिक विकटताका कारण समयमा नै निर्माण सामग्री अभाव, ढुवानी गर्न कठिन, दक्ष जनशक्ति अभावजस्ता कारणले पुनः निर्माणको काममा ढिलाइ भएको उहाँले बताउनुभयो ।
सोही इकाइका इन्जिनियर श्रेया झाले २० विद्यालयको भवन निर्माणाधीन अवस्थामा रहेको र १० विद्यालयको भवन निर्माणका लागि टेण्डर भइसकेको बताउनुभयो ।
पुनःनिर्माण प्राधिकरण, शिक्षा विकास तथा समन्वय इकाइ, एशियाली विकास बैंक र गैरसरकारी संस्थाले गरी हालसम्ममा ३४४ विद्यालयका दुई हजार ४१९ मात्रै कक्षा कोठाको निर्माण गरेका छन् ।
भूकम्पका कारण जिल्लाका पाँच हजार २१० कक्षा कोठामध्ये ९५४ पूर्णरूपमा क्षति हुनाका साथै अधिकांश क्षतिको सङ्ख्या ९१४, सामान्य क्षतिको सङ्ख्या एक हजार ४८३ र क्षति नभएको कक्षा कोठा एक हजार ८५९ छन् । रासस