Logo

कालीगण्डकीमा पानीको सतह विगत तीनवर्ष यताकै उच्च



पर्वत, ३१ साउन । विगत केहि दिनदेखि परेको निरन्तर वर्षाका कारण कालीगण्डकी नदीमा पानीको सतह अत्यधिक बढेको छ ।हिमालपारीको जिल्ला मुस्ताङ हुँदै म्याग्दी र पर्वत हुँदै बग्ने कालीगण्डकी नदीमा बुधवार पानीको सतह विगत तीनवर्ष यता उच्च विन्दुमा पुगेको हो ।

पानीको सतह बढेर एक हजार नौ सय मिटर क्युसेक पुगेको छ । मङ्गलबार बिहानसम्म एक हजार एक सय मिटर क्युसेक रहेको सतह गएरातिको भारी वर्षासँगै ह्वात्तै बढेको हो । एकै दिनमा आठ सय क्युसेक पानीको सतह बढेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिएका छन।

कालीगण्डकीमा सबैभन्दा धेरै पानीको सतह बढ्दा दुई हजार पाँच सयदेखि तीन हजारसम्म पुग्ने गरेको कालीगण्डकी ‘ए’ जलविद्युत परियोजनाले जनाएको छ । यसअघि २०७२ सालमा पनि एक हजार नौ सय मिटर क्युसेककै हाराहारीमा पानीको सतह पुगेको थियो ।

पर्वत स्याङजा र गुल्मीको सिमाना सेतीवेणीमा भने पाँच हजार क्युसेकसम्म सतह पुग्ने गरेको आयोजनाले जनाएको प्रजिअ ढकालले जानकारी गराएका छन ।निरन्तरको वर्षासँगै सतह ह्वात्तै बढेपछि जिल्ला प्रशासन कार्यालयले सम्बन्धीत सबैमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीलगायतको टोलीले पर्वतको सदरमुकाम कुश्माबजारदेखि म्याग्दीको सदरमुकामसम्म आज बिहान स्थलगत अनुगमन गरी जोखिमपुूर्ण बस्तीका स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका हुन् । वर्षा नरोकिएकाले जुनसुकै बेला पनि नदीको सतह खतराको बिन्दुसम्म आइपुग्ने बताउँदै उच्च सतर्कता अपनाउन नदी किनारका बस्तीहरुमा पुगेर आग्रह गरिएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

पर्वतका जलजलास्थित वारीवेनी, बगरफाँट, लस्ती, खनियाघाट, मालढुङ्गा, अर्मादी, मोदीवेणी, तथा बागलुङको जैमिनिघाट, र पर्वतकै इमिचौर र सेतीवेणी बजार कालीगण्डकीको बहावका कारण खतरामा रहेको जनाएको छ । ती क्षेत्रका बासिन्दालाई रातिको समयमा उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको समेत प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी बताएका छन । रासस



प्रतिक्रिया दिनुहोस्