Logo

करको हल्ला फैलाएर स्थानीय सरकारमाथि दोष थोपर्ने काम गरियो : श्रेष्ठ



काठमाडौं, ३१ साउन । गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष होमनारायण श्रेष्ठले करको विषयलाई लिएर जे÷जस्तो हल्लाहरु बजारमा आएको छ यसले स्थानीय सरकारमाथि दोष थुपार्ने क्रम बढाएको बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘दोहोरो कर तिरेको छैन । यो हल्ला सत्य हो भनेर स्विकार्दिन । हाम्रो उद्देश्य जनतालाई सेवा र सुविधा दिने हो । विकास र संमृद्धिमा छुट दिने हो ।’

करसम्बन्धी हल्ला आफ्नो रेकर्डमा नभएको बताउँदै उनले भने,‘यदि त्यस्तो कुरा साँचो हो भने हामी आपसी समझदारीमै समस्या सुल्झाउँछौँ । हामीमाथि लागेका आरोप र आलोचनालाई सम्पत्तिको रुपमा ग्रहण गर्छौ ।’

त्यसैगरि कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य लेखनाथ पोखरेलले कर सम्बन्धमा अनावश्यक हल्ला नफैलाउन आग्रह गरेका छन् ।

उनले भने,‘संघिय राज्यलाई असफल पार्ने मनसायले करको विषयलाई अनावश्यक रुपमा प्रचार गरिएको छ । सरकारले कर बढायो भनेर भन्नु त संघीयता ठिक छैन् भन्ने तत्वहरुको हल्लामात्रै हो । पहिले जिल्ला घरेलुले लिने करलाई अहिले गाउँपालिकामा सारेको मात्रै हो । कर बढेको होईन, करको दायरा बढेको हो । जनतालाई बुझाउनुपर्नेछ ।’

उनले अघि थपे,‘बिगतमा भ्याट र प्यानमा जाँदा योभन्दा जटिल परिस्थिति सिर्जना भएको थियो । यदि कहीँकतै अनावश्यक कर लगाएको रहेछ भने महासंघले सजगसमेत गराउनेछौँ।’

गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सदस्य डम्बर क्षेत्रीले स्थानीय तहले जनतालाई मारमा पार्नेगरि कर नलाएको दाबी गरे ।

उनले भने,‘मैले प्रतिनिधित्व गरेको स्थानीय तह र दुई नम्बर प्रदेशमा जनताको सल्लाह अनुसार कर बढाएका छौं, जन्मदर्ता गर्न नआउने र मृत्यु दर्ता नगर्ने परम्परा भएका कारण त्यसलाई कानून अनुसार उत्प्रेणा दिनको लागि मृत्यु दर्ता गर्नेलाई पाँच हजार र जन्म दर्ता गराउनेलाई एक हजार रुपैयाँ दिँदै आएका छौं, संघीयतालाई असफल पार्नेहरुले करबारे यस्ता हल्लाहरु चलाईरहेका छन् ।’



प्रतिक्रिया दिनुहोस्