काठमाडौं १ भदौ ।
प्रदेश १ को सरकारले चालु आर्थिक वर्षमा ३९ करोड ९७ लाख ९६ हजार मूल्यबराबरका सवारीसाधन किन्ने भएको छ । स्थानीय तहलाई प्रदान गरिने ७० वटा एम्बुलेन्सदेखि केन्द्रीयस्तरका मन्त्रीका लागि चढ्ने छुट्टै र प्रदेशका मुख्यमन्त्रीका लागि २ करोड रुपैयाँ पर्ने एउटा गाडीका लागि समेत बजेट छुट्याइएको छ । गत आर्थिक वर्षमा अन्तिम समयमा पेश्की बजेट ल्याएका कारण धेरैवटा मन्त्रालयले सवारीसाधन खरिद गरेका थिएनन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ६५ लाख रुपैंयाँसम्मको सवारीसाधन खरिदका लागि बोलपत्र आह्वान गरेको थियो। तर, टेण्डर नै परेन। यो वर्ष भने मुख्यमन्त्री चढ्ने सवारी साधन खरिदका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ। अहिले मुख्यमन्त्री सुनसरी मोरङ सिँचाई आयोजनाको पुरानो ल्याण्डकुजर गाडी चढिरहेका छन्।
यसैगरी, भौतिक पूर्वाधार विकास मन्त्रालयले गत आवमा ५४ लाख रुपैयाँमा एउटा गाडी खरिद गरेको छ। यो मन्त्रालयमा अहिलेसम्म मन्त्री नियुक्त भएका छैनन्। मुख्यमन्त्री शेरधन राई आफैंसँग यो मन्त्रालय राखेका छन्। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पनि टेण्डर नपरेका कारण गतवर्ष गाडी खरिद गर्न सकेन।
सामाजिक विकास मन्त्रालयले भने ५४ लाखमा एउटा गाडी खरिद गरेको छ। यसैगरी प्रदेशसभा सचिवालयले भने तीनवटा गाडी खरिद गरेको छ। सभामुख, उपसभामुख र प्रदेशसभाका सचिवका लागि ती गाडी खरिद गरिएका हुन्। यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रालयले १ करोड ६७ लाख रुपैयाँमा गत आवमा २ वटा गाडी खरिद गरेको थियो। प्रदेश प्रमुखका लागिसमेत गाडी खरिद गत आवमा नै गरिएको थियो। कान्तिपुरबाट