Logo

नयाँ कानूनले प्रेस जगतलाई साँघुरो बनाउन खोज्यो : विरही



काठमाडौं, १ भदौ ।  वरिष्ठ पत्रकार एवम् नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले मुलुकी ऐनले प्रेस जगतलाई साँघुरो बनाउन खोजेको आरोप लगाएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘जारी गरिएको मुलुकी ऐनले स्वतन्त्र प्रेस जगतमाथि केही अंकुश लगाउन खोजेको जस्तो देखिन्छ, केही समस्याहरु देखिएका पनि छन्, चुनावका बेलामा कांग्रेसका सभापतिले बोलको अधिनायवाद शब्दलाई यस प्रकारका अंकुशले अझ मलजल पुग्छ, कानून बनाउनु ठूलो कुरा होईन, कानूनको पालना गर्नु प्रधान कुरा हो ।’

मुलुकी ऐनको प्रत्यक्ष लाभ जनताले लिनुपर्नेमा जोड दिँदै विरहीले भने,‘राज्यका सम्पूर्ण अधिकारहरु जनताको हितमा हुनुपर्छ, यस मुलुकी ऐनलेपनि जनतालाई सम्पन्न बनाउन सकोस् भन्ने मेरो धारणा छ।’

राज्यलाई अग्रगमनतिर अघि बढाउनको लागि सरकार सबैभन्दा प्रगतिशील र जनपक्षीय हुनुपर्ने विरहीको भनाई छ । उनले थपे,‘लोकतन्त्रलाई अझ मजबुद बनाउन र विश्वमा चर्चा र परिचर्चा हुने नेपालको लोकतन्त्रको आकार बिशाल बनाउनको लागि स्वतन्त्रता र प्रेस जगतलाई बलियो बनाउन आवश्यक छ, खोजी पत्रकारिता आवश्यक छ।’

भ्रष्टाचारको अन्त्य गर्न पत्रकारहरुले ठूलो भूमिका खेल्नुपर्ने उनको भनाई छ । विरहीले थपे,‘तर कसैको अनुमतिबिना फोटो खिच्न नपाईने, र कसैको अनुमतिबिना अडियो–भिडियो गर्न नपाईने हो भने कसरी पत्रकारहरुले काम गर्न सक्छन ?’

सरकारले निजी क्षेत्रका पत्रकार र सञ्चारमाध्यमलाई बाँध्न नहुने उनको जिकिर छ । उनले भने,‘यदि यसरी बाँध्ने हो भने अन्य पत्रिकाले गोरखापत्र बन्नुपर्ने हुन्छ, अन्य टेलिभिजनले नेपाल टेलिभिजन बन्नुपर्ने हुन्छ, यस्ता कुराहरुमा सरकार सचेत हुनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्