काठमाडौं, १ भदौ । माछापुच्छ्रे बैंकले खेलकुद क्षेत्रका उदीयमान नामहरु मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई बैंकको ब्रान्ड एम्ब्यासडरको रुपमा नियुक्त गरेको छ ।
बैंकले शुक्रबार काठमाडौंको सांग्रिला होटलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीले क्रमशः आफ्नो यात्रा, कठिनाई एवं चुनौतीहरु, सफलताहरु, र भावी योजनाहरु बारे मन्तव्य ब्यक्त गरेका थिए ।
मिरा राई नेपाली म्याराथनको एक चर्चित नाम हो । विभिन्न अल्ट्रा म्याराथन खेलमा सहभागिता जनाइसक्नुभएको मिरा राईले देश र विदेशमा थुप्र्रै उपाधि जितेकी छिन् । राईले २०१५ मा फ्रान्समा सम्पन्न ८० किलोमिटर विश्व म्याराथनमा पहिलो स्थान हासिल गर्न सफल भएका थिए ।
विश्व अल्ट्रा म्याराथनमा आफुलाई स्थापित गर्दै आएकी नेपाली धाविका मिरा राई नेसनल ज्योग्राफिकले २०१७ मा सार्वजनिक गरेको ‘एड्भेन्चर अफ द इयर‘ को उपाधि समेत जित्न सफल भएकी थिईन् ।
त्यसैगरी प्रतिमा शेर्पा नेपालको नम्बर १ महिला गल्फर हुन् । रोयल नेपाल गल्फ क्लबमा हुर्किएकी शेर्पाले १५ वर्षकै उमेरदेखि खेलको प्रशिक्षण लिन थालेकी हुन् । सानो उमेरमै लगातार उपाधि जित्न सफल भएपछि उनको चर्चा स्वदेशीमात्र नभएर विदेशी मिडियामा पनि भएपछि शेर्पाले पूर्व विश्व नं. १ टाईगर उड्सलाई समेत भेट्ने अवसर प्राप्त गरेकी थिईन् । उनको दुई महिने अमेरिका भ्रमणका दौरान ईसपीएनले उनीमाथि एक वृतचित्र समेत निर्माण गरको थियो ।
आर्यन गिरी अर्का १३ वर्षीय उदीयमान टेनिस खेलाडी हुन् । ६ वर्षको कलिलै उमेरदेखि टेनिस शुरु गरेका गिरी बर्न सर्भाइभर हुन् । उनले नेपाल अन्डर १४ को नम्बर १ र एशिया अन्डर १४ मा नम्बर २९ स्थान बनाउन सफल खेलाडी हुन् । उनी आफ्नो मेहेनत र परिश्रमले एशियाकै नम्बर १ हुने लक्ष्य राखेका छन् ।
पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीजस्ता खेलाडीहरुलाई बैंकसँग आवद्घ गर्न पाउन गौरवको विषय रहेको बताएका थिए ।
बैंकका पूर्व अध्यक्ष तथा पुर्व सभासद डा. बीरेन्द्र प्रसाद महतोले बैंकले नियुक्त गरेका ब्रान्ड एम्ब्यासडरहरुले बैंकलाई अझै उचाईमा पु¥याउने कुरामा आफु विश्वस्त रहेको बताए ।
मुलुककै उदयीमान युवा खेल प्रतिभाहरुसँग आफ्नो बैंकले सहकार्य गर्न पाउनु गौरवको विषय भएको महतोको भनाई छ । उनले भने,‘उहाँहरुसँग सहकार्य गर्दा मलाई अहिले गौरवको महशुस भैरहेको छ ।’
महतोले आफूहरुको समृद्धिको एजेण्डा र खेलाडीले देशको शान, गौरव बढाएको बताउँदै यो सहकार्यले मुलुकको राष्ट्रियता झनै मजबुद हुनेपनि विश्वास दिलाए । उनले भने,‘एउटा खेलाडीले देशको शानलाई उँचो बनाउँछ । हामी हिमालजस्तै उचाईँ प्राप्त गर्ने लक्ष्यमा छौं । यो लक्ष्यप्राप्तिको लागि बैंकले तपाईहरुजस्तो प्रतिभावान खेलाडीहरुसँग सहकार्यको थालनी गरेको छ । हामी आज गौरवान्तित छौं ।’
फरक प्रसँगमा उनले देशको झण्डा विश्वसामू फहराउने खेलाडीहरुलाई सरकारले बिर्सिएको पनि गुनासो पोखे । उनले भने,‘तर, उहाँहरुजस्तो प्रतिभावान व्यक्तित्वहरुसँग हामीले सहकार्य गर्न पाएका छौं । यो हाम्रो बैंकको लागि सौभाग्यको कुरा हो ।’
त्यस्तै डा. महतोले बैंकहरु अब शहरमुखीभन्दापनि गाउँमुखी हुनुपर्ने धारणा राखे । उनले थपे,‘माछापुच्छ्रे बैकले अहिले गाउँमुखी हुनुपर्छ भनेर आफ्नो सेवा त्यही अनुसार विस्तार गर्न लागिरहेको छ ।’
बैंकका अध्यक्ष रोशन के. सी. ले पनि आफ्नो मन्तव्यमा मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई माछापुच्छ्रे बैंकको सदस्यका रुपमा स्वागत गरे ।
बैंकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २५ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११३ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।