काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्न आग्रह गरेका छन्।
राष्ट्रिय सूचना दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। सन्देशमा प्रधानमन्त्री ओलीले सूचनाको हकको विषयमा कानूनी प्रक्रियाको अनुसरण गरी आफ्नो संवैधानिक हकको उपयोग गर्न सम्पूर्ण देशबासीलाई आह्वान पनि गरे।
प्रधानमन्त्री ओलीले राज्यका कामकारबाहीलाई नागरिकप्रति जवाफदेही बनाउन सार्वजनिक महत्वको सूचनामा आम नागरिकको पहुँच सरल र सहज हुनुपर्छ भन्ने सरकारको धारणा रहेको बताएका हुन्।
‘नागरिकलाई कसैको व्यक्तिगत मामिला वा आम सरोकार नभएका विषयमा सूचनाको हक आकर्षित नहुने कुरा तर्फ समेत सजग गराउँछु’ प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन्।