Logo

प्रधानमन्त्री ओलीको ६ महिने कार्यकाल पूर्ण सफल : पाण्डे



काठमाडौं, ३ भदौ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सांसद सोमप्रसाद पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको ६ महिने कार्यकाल हरेक दृष्टिकोणले पूर्ण सफल रहेको दाबी गरेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘ओली सरकारले सम्पूर्ण शक्ति मुलुक र जनताको विकास र समृद्धिको लागि लगाएको छ। यो ६ महिनाको कार्यकाल पूर्ण सफल भएको छ।’

नेता पाण्डेले वर्तमान सरकारले यो ६ महिनामा यातायात क्षेत्रको सिण्डिकेट पूर्ण रुपमा हटाउने काम गरेको र अन्य क्षेत्रमा व्याप्त रहेका एकाधिकारलाई पनि हटाएर व्यवस्थित् गरेको, तस्करीलाई नियन्त्रण गरेको, सार्वजनिक खर्चमा मितव्ययीता अपनाएको र राजदुत नियुक्तीको मापदण्ड बनाउने लगायत समृद्धि र विकासका योजना बनाएको भन्दै राम्रा कामहरुको फेहरिस्त सुनाए ।

प्रधानमन्त्री ओलीको सोच र उनी नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनतालाई दुरगामी फल प्राप्त हुनेपनि उनको विश्वास छ । उनले भने,‘सरकारले कृषि उत्पादनलाई दोब्बर बनाउने भनेको छ । भारतसँगको सम्बन्ध सुमधुर बनाएको छ । रेलमार्ग बनाउने कुरा यही सरकारले पहिलोपटक गरेको हो । चीनसँगपनि हामीले कनेक्टिभीटी जोड्ने भनेर समझदारी गरेका छौं । भारत र चीन दुवै देशबाट रेल आउँछ । भारत र चीन दुवै देशसँग सरकारले बलियो र सुमधुर सम्बन्ध बनाएको छ ।’

यो ६ महिनाको अवधिमा पनि सरकारलाई तीन महिना त तयारी गर्नमै लागेको उनको भनाई छ । पाण्डेले भने,‘सय दिन सरकारको हनिमुन पिरिअड हो । अर्को तीन महिना हामीले काम गर्न खोजेका छौं । तत्काल केही प्राप्त नभएको होलान् । तर, हामीले भोलिका दिनमा फल प्राप्त हुनेगरि काम गरिरहेका छौं ।’

प्रधानमन्त्री ओलीले मुलुकको अहित हुने काम कहिल्यैपनि नगरेको र आगामी दिनमा पनि नगर्ने उनको दाबी थियो । उनले भने,‘मुलुकको अहित गर्छ भनेर हाम्रो प्रधानमन्त्रीज्यूलाई कसैले नसोचेपनि हुन्छ । उहाँले कहिल्यैपनि मुलुक र जनताको अहित हुने कुरा सोच्नुहुन्न ।’

फरक प्रसँगमा उनले राजपा नेपालका बरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले प्रधानमन्त्री ओली हिजो अनिधृकत रुपमा प्रदेश नम्बर २ को सभामा प्रवेश गरेर सम्बोधन गरेको भनेर लगाएको आरोपको खण्डन गरेका छन् ।

पाण्डेले भने,‘प्रदेश नम्बर २ पनि नेपालमै पर्छ । यो कुनै छुट्टै प्रदेश होईन् । प्रधानमन्त्रीले प्रदेशलाई निर्देशन दिन पाउनुहुन्छ । उहाँले २ नम्बर प्रदेशमामात्रै नभएर अरु प्रदेशमा पनि बोल्नुभएको छ । र, बोल्न पाउनुहुन्छ । प्रधानमन्त्रीले हिजो गरेको सम्बोधनबारे लालजीले गलत अभिव्यक्ति दिनुभयो । यस्तो अभिव्यक्ति दिएर मुलुकको अखण्डता र संघीय व्यवस्थालाई कमजोर बनाउनेगरि गलत प्रचार नगरौं ।’



प्रतिक्रिया दिनुहोस्