काठमाडौं ५ भदौ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा जाहेरवाला नुरप्रसाद अधिकारी अदालतमा उपस्थित भएनन् । अदालतले उनलाई सोमबार हाजिर हुन मिति दिएको थियो ।
चितवन जिल्ला अदालतले साउन २० गते नुरप्रसादलाई भदौ ४ गते अदालतमा झिकाउन आदेश गरेको थियो । अदालतको आदेशपछि नुरप्रसादको गोरखास्थित घरमा रितपूर्वक मिति तामेली गरिएको अदालतका साक्षी संरक्षण अधिकृत गम्भीर घिमिरेले बताए ।
तोकिएको मितिमा नुरप्रसाद अदालत हाजिर नभएपछि भदौ २४ गते आइबारका लागि मुद्दाको पेशी तोकेको घिमिरेले बताए ।
यसअघि फागुन १३ गते अधिकारीलाई झिकाउन म्याद जारी गरिएको थियो । त्यस समयमा जिल्ला अदालत गोरखाका कर्मचारीहरुले व्यक्ति र परिवार नभेटेपछि घर नजिकैको चौताराको पिपलको बोटमा म्याद टाँसेका थिए । त्यो काम रितपूर्वक नभएको भन्दै बदर गरी पुनः म्याद जारी गरिएको थियो ।
कृष्णप्रसाद अधिकारीको वि.सं २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको थियो । प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमङ्गलामा हजुरबुबा भेट्न आएको समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो ।
चितवन जिल्ला अदालतको प्रारम्भिक आदेशविरुद्ध तत्कालीन पुनरावेदन अदालत हुँदै सर्वोच्च अदालतमा समेत निवेदन पुगेपछि एकजना अभियुक्त छविलाल पौडेललाई थुनामा राख्नुपर्ने आदेश भएको थियो ।
त्यही आदेशअनुसार असार २४ गते उनी सर्वोच्च अदालत समक्ष हाजिर भएका थिए । अदालतले त्यही दिन उनलाई डिल्लीबजार कारागार चलान गरेको छ ।