Logo

पर्दामा हिरोसँग प्रतिष्पर्धा गर्ने रेखा थापाको ३७ वर्षे जीवन चक्र !



काठमाडौं, ५ भदौ । आज भदौ ५ गतेबाट लोकप्रिय नायिका एवम् सामाजिक अभियान्ता रेखा थापालाई ३७ वर्षले स्वागत गरेको छ । पिता स्व.प्रेम थापा र माता सरस्वती थापाको कोखबाट जन्मिएकी रेखा थापा नायिका, निर्देशक, निर्माता, संगीतकार, गायिका तथा निर्मात्री समेत बन्ने एकमात्रै नायिका हुन ।

छविराज ओझाको फिल्म ‘हिरो’ बाट अभिनय यात्राको सुरुवात गरेकी उनले यस वर्षको लक्ष्मीपूजामा प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘मालिका’सम्म आइपुग्दा २ सय बढी फिल्ममा आफ्नो अभिनय गरेकी छन् ।

आलोचना र प्रशंसाको अभिन्न मित्र बनेकी रेखा एक दशक अगाडिदेखि नम्बर वान अभिनेत्रीको यात्रामा स्थिर छिन् । डायरी, रुद्रप्रिया, पलाँस फिल्म बक्सअफिसमा डुब्दा भने उनको स्टारडमले ठाउँ छाड्न थालेको धेरैको तर्कछ ।

रेखा अभिनीत हिरो, मितिनी, धड्कन,हामी तीन भाई, कर्णवीर, दुर्गा, देवर बाबु, हिम्मत,किस्मत, हिफाजत,अन्दाज,रावण, कस्ले चोर्‍यो मेरो मन, हिम्मतवाली, रामप्यारी जस्ता फिल्मलाई दर्शकले अत्याधिक रुचाएको पाइन्छ । जुन व्यवसायिक रुपमा पनि सफल ठहरिए ।

नेपाली फिल्ममा निरुता सिंह, विपना थापालगायतका अभिनेत्रीहरुको दबदबा रहँदा रेखा फिल्ममा आएकी थिइन् । यसपछि सुरु भएको उनको दबदबा अझै पनि कायमै छ । कुनै बेला रेखा छोटो पहिरन लगाएका कारण सर्वाधिक चर्चामा आउने गरेको समाचार फिल्मखबरले छापेको छ ।

एक्सन अभिनेत्रीको छवि बनाएकी उनले पछिल्लो समय फिल्ममार्फत् महिला सशक्तिकरणको आवाज उठाउँदै आएकी छन् । रुद्रप्रिया मा एसिड काण्ड, रामप्यारी मा महिला बेचविखन र अब मालिका मा उनले बाल विवाहको विषय उठाएकी छन् ।

पर्दामा अभिनेत्री थापाको प्रतिस्पर्धा हिरोइनसँग नभएर हिरोसँग भयो । एक समयका स्टार निखिल उप्रेती र विराज भट्टसँग रेखाको राम्रै वाक युद्ध चल्यो । यो युद्धमाको पराजित भयो ? को विजय भयो त्यो कुरा ईतिहास बोल्नेछ ।

पर्दामा सफल रहेकी अभिनेत्री थापाको बैबाहिक जीवन भने सफल रहन सकेन । हिरो फिल्म खेले लगत्तै निर्माता छविराज ओझासँग उनको लगनगाँठो कसिएको थियो । अन्ततः वैचारिक मतभेदका कारण करिब १२ वर्षपछि रेखा–छवि एक आपसमा छुट्टिए ।

करिअरको चरम बिन्दुमा आएर अभिनेत्री थापाले तत्कालिन एमाओवादीमा प्रवेश गरिन् । पछि आफू राप्रपाकी छोरी भन्दै माओवादी छाडिन् । उनी राप्रपामा पनि टिक्न सकिनन् । गएको वर्ष मात्र अभिनेत्री थापाले पशुपति शम्शेर राणा समुहको राप्रपा प्रजातान्त्रिक रोजेकी छन् ।

उनको राजनीतिक यात्राको पनि बेलाबखतमा खुबै आलोचना हुनेगर्छ । जिन्दगीका पाइलाहरु जसरी अगाडि बढाएपनि नेपाली फिल्मकी नम्बर वान नायिका रेखा थापालाई आगामी फिल्म र राजनीति करिअरको लागि सफलतासँगै जन्मदिनको शुभकामना ।



प्रतिक्रिया दिनुहोस्