Logo

पक्षघात भएका विद्यार्थीलाई सहयोग



काठमाडौँ, ६ भदौ । पूर्व-प्रहरी परिवार मञ्चले गोकर्णेश्वरको मेरुदण्ड पक्षघात समूहलाई दुई लाख ५० हजार सहयोग गरेको छ । मेरुदण्ड पक्षघात भएका विद्यार्थीलाई स्वावलम्बन जीवन पद्धति र आवास सञ्चालनका लागि उक्त सहयोग गरिएको हो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल र मञ्चका सल्लाहकार शिवजी श्रेष्ठले मङ्गलबार सो रकम समूहका उपाध्यक्ष बाबुराम मिश्रलाई संयुक्तरूपमा हस्तान्तरण गर्नुभयो ।

महानिरीक्षक खनालले मेरुदण्ड पक्षघात भएका विद्यार्थीको स्वावलम्बन जीवन पद्दती सिकाई एवं आवास सञ्चालनमा सो रकमले सहयोग पुग्ने बताउनुभयो । उहाँले आउँदा दिनमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख नेपालले बौद्धिक, शारीरिक र मेरुदण्ड पक्षघातबाट अशक्तलाई नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । मञ्चका सल्लाहकार श्रेष्ठले सो सहयोगले विद्यार्थीको भविष्य उज्ज्वल बनाउन थप प्रेरणा मिलेको बताउनुभयो । रासस

विसं २०७२ मा स्थापना भएको उक्त समूहले मेरुदण्ड पक्षघात भएका विद्यार्थीको स्वावलम्बन जीवन पद्दति, सिकाइ एवं आवास सञ्चालन र अपाङ्गता अधिकारसम्बन्धी विभिन्न कार्यक्रम गर्दै आएको छ । हाल समूहमा ११ विद्यार्थी छन् ।



प्रतिक्रिया दिनुहोस्