Logo

सर्पको बिगबिगी



बर्दिवास, ६ भदौ । महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा लिषालु सर्पको बिगबिगी निकै बढेको छ । जिल्लाका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा सर्पदंशका घटना बढ्दैछन् ।

बर्दिवास—३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा भदौ शुरु भएयता पाँच दिनमा नैसर्पदंशका १३ बिरामी उपचार गरेर घर फर्किसकेको र पाँच जना अझै उपचारकै क्रममा छन् । यसअघि गत साउन मसान्तसम्म केन्द्रमा एक हजार ७१ ले उपचार लिएको अभिलेखले देखाएको छ ।

विसं २०७१ साउन ३१ गते स्थापना भएर सञ्चालन हुँदै आएको केन्द्रमा आर्थिक वर्ष २०७४÷०७५ सम्म सर्पदंशका एक हजार चार बिरामीले उपचार पाएका थिए ।

तीमध्ये आर्थिक वर्ष २०७१÷०७२ मा १६५, आव २०७२÷०७३ मा २७०, आव २०७३÷०७४ मा २७३ र आव २०७४÷०७५ मा २९६ जनाले उपचार लिएको अभिलेखलाई उद्धृत गर्दै सर्पदंश उपचार केन्द्र बर्दिवास–३ गौरीडाँडा व्यवस्थापन समितिका अध्यक्ष कृष्ण देवकोटाले जानकारी गराए। चालु आर्थिक वर्षको साउनमा ६७ जनाले उपचार लिएको तथ्याङ्क छ । जिल्लामा धेरैजसो गोमन र करेत जातका विषालु सर्पको बिगबिगी देखिएको केन्द्रले जनाएको छ ।

जिल्लाका बर्दिवास, गौशाला, औरही, भङ्गाहा र रामगोपालपुर नगरपालिका क्षेत्र सर्पदंशका घटना धेरै हुने ठाउँ देखिएका छन् । केन्द्र सञ्चालनमा आएदेखि गत साउन मसान्तसम्मको तथ्याङ्क हेर्दा बर्दिवास नगर क्षेत्रमा मात्रैै सर्पदंशका ४७० घटना भएको देखिन्छ । त्यसैगरी गौशाला–१८७, औरही–१२९, भङ्गाहा–२६ र रामगोपालपुरका २४ जनाले केन्द्रबाट सफल उपचार पाएको अध्यक्ष देवकोटा बताउन्छन ।

महोत्तरीबाहेक अन्य छिमेकी जिल्लाबाट सर्पदंशको उपचार लिनेमा सिन्धुलीका १६७, धनुषाका ६६, सर्लाहीका आठ, रामेछापका तीन र सुनसरीका एक जना देखिएका छन् ।

सामाजिक पहलकदमीमा स्थापित र सञ्चालित केन्द्रमा नेपाली सेनाले उपचारमा संलग्न हुने दक्ष छ प्राविधिक उपलब्ध गराउँदै आएको छ । बितेका चार वर्षमा सर्पदंशका ३१ बिरामीलाई मात्र थप उपचारका लागि अन्यत्र सिफारिस गरिएबाहेक सबै उपचार पाएर घर फर्केको अध्यक्ष देवकोटाले जानकारी दिए।

उपचार केन्द्रमा भेन्टिलेटर सुविधासहितको सघन उपचार कक्ष नहुँदा ढिलो उपचारमा आइपुग्ने केही बिरामीलाई अन्यत्र उपचारका लागि सिफारिस गरिँदा केही अप्रिय घटना भएको अध्यक्ष देवकोटाको भनाइ छ । केन्द्र र बर्दिवास अस्पतालको समन्वयमा अत्यावश्यक भेन्टिलेटर र अन्य उपचार उपकरणसहितको सघन उपचार कक्ष सञ्चालनको आवश्यकता सार्वजनिक रुपमा औंल्याइँदै आएको छ ।

सो व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण कैयौंँ पटक गराइए पनि हालसम्म उपलब्ध भने हुन नसकेको अध्यक्ष देवकोटाले जनाए। सो भेगका सर्वसाधारणले उपचार केन्द्रको स्तरोन्नतिका लागि सरकारी पहलकदमी बढ्नुपर्ने बताएका छन् ।रासस



प्रतिक्रिया दिनुहोस्