Logo

बकरइदमा सामूहिक नमाज पाठ



नेपालगञ्ज, ६ भदौ । इद—उल—अजहा बकरइद को अवसरमा बाँकेका मुस्लिम धर्मावलम्बीहरुले आज बिहान नेपालगञ्जस्थित इदगाहमा सामूहिक नमाज पाठ गरेका छन् ।

बकरइद पर्व इस्लाम धर्मावलम्बीहरुको इदपछिको दोस्रो ठूलो पर्व हो । इदगाहमा नयाँ पहिरनमा उपस्थित इस्लाम धर्मावलम्बीहरुले बकरइद पर्वलाई आपसी भाइचारा, धार्मिक सहिष्णुता र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले मनाएका छन् । नमाज पाठपछि त्यहाँ उपस्थित सबैले आपसमा अङ्कमाल गरी बकरइदको शुभकामना आदानप्रदान गरेका थिए ।

शुभकामना दिन इदगाहमा नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा धवलशम्शेर राणा, विभिन्न राजनीतिक दलका स्थानीय नेतागण, नागरिक समाजका अगुवालगायतको उपस्थिति थियो ।

सामूहिक नमाजका लागि इदगाह पुगेका शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै विविध जाती, धर्म, सम्प्रदायको बसोवस रहेको नेपालमा सबै पर्व मिलेर मनाउनुपर्नेमा जोड दिएका छन। उनले बकरइद पर्वले मुलुकमा शान्ति, अमनचयन र आपसी भाइचारा कायम होस् भनेर खुदा ईश्वरसँग प्रार्थाना गरेको बताए ।

बकरइद पर्व तीन दिनसम्म नयाँ पहिरन लगाउने, मासु र सेवइको विशेष परिकार खाने, खुवाउने गरी धुमधामसँग मनाउने गरिन्छ । बकरइदमा प्रदेश नं ५ सरकारले यस अन्र्तगतका १२ जिल्लामा आज सार्वजनिक बिदा दिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्