Logo

बिदामा फेरि संघ प्रदेश कचमच



काठमाडौं ७ भदौ । कसले दिएको बिदा पालना गर्ने विषयमा संघ र प्रदेश सरकारबीच फेरि कचमच देखिएको छ । बकर इदमा प्रदेश सरकारले बुधबार दिएको सार्वजनिक बिदा जिल्ला प्रशासन कार्यालयहरूले पालना गरेनन् । केन्द्रले बिदा नमाउन निर्देशन आएको भन्दै प्रदेश १ का १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले कार्यालय खुला गरेका हुन् । यसरी प्रदेशले तोकेको बिदा पालना नभएको यो दोस्रोपटक हो ।

संघीय सरकारको मातहतमा रहेका प्रमुख जिल्ला अधिकारीहरू प्रदेश सरकारले दिने निर्देशन मान्न सकिरहेका छैनन् । प्रदेशका मन्त्रीको निर्देशन पालना नगरौं मन्त्री रिसाउने, पालना गरौं माथिल्लो निकाय रुष्ट हुने ।

‘कर्मचारीका लागि बिदा प्यारो हुन्छ,’ सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले भने, ‘तर हामी जसको मातहतमा छौँ, उसले खोल भनेपछि बिदा दिने कुरा आउँदैन ।’

प्रदेशका मन्त्रीहरूले भने बिदा दिनका लागि पटक–पटक दबाब दिँदै आएका छन् । ‘प्रदेशका गृह मन्त्रीको लिखित पत्र आउँछ, केन्द्रमा सोध्यो सचिवले तँलाई कसले बन्द गर् भनेको छ भन्छन्,’ एक प्रजिअले भने, ‘योभन्दा दोहोरो मार के हुनु ।’

अघिल्लो पटक विश्व आदिवासी दिवसका अवसरमा प्रदेश सरकारले गरेको सार्वजनिक बिदाको पनि अवज्ञा भएको थियो । दुई तहका निर्णय कार्यान्वयन मात्र हैन, नीति निर्देशनसमेत पालना गर्नुपर्दा निकै कठिनाइ भएको उनीहरूको भनाइ छ ।

बिदाको निर्णय पालना गर्न नसक्दा सबै प्रजिअले संघीयताविरोधी भएको आरोप पनि खेप्नुपरेको छ । त्यस बेला प्रदेश सरकारले १४ वटै प्रमुख जिल्ला अधिकारीलाई लिखित पत्र काटेर बिदा कार्यान्वयन गर्ने निर्देशन दिएको थियो । पत्रको आदेश पालना नहुँदा प्रदेश सरकार प्रजिअमाथि खनिएको थियो ।

प्रदेशको निर्देशन सबैले मान्नुपर्ने जिकिर मन्त्रीहरूगर्छन् । तर प्रदेशको निर्देशन आए पनि केन्द्रको नीति, नियम र कानुनसँग नबाझिएसम्म मात्र पालना गर्ने प्रजिअहरू बताउँछन् ।

खास गरी प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरूलाई कसको निर्देशन पालना गर्नुपर्ने भन्ने अन्योल रहेको पाइन्छ । प्रदेशसँग अहिले आफ्नो प्रहरी छैन । दोहोरो निर्देशन र सुरक्षा व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई धौधौ पर्ने गरेको छ ।

‘हामीले संघीयतालाई स्वीकार नगरेको हैन, हामी जसको मातहतमा छौं, उसले बिदा छैन भनेपछि निर्देशन पालना मात्र गरेका हौं,’ मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले भने, ‘प्रदेश सरकारले दिएका निर्देशन पनि संघीय कानुनमा नबाझिँदासम्म पालना गर्छौं ।’

यस्तो सानो कुरामा यति विवाद होला भन्ने अपेक्षा नगरेको केसीको भनाइ छ । ‘यो सामान्य कुरा हो, भोलिका दिनमा २ सरकारबीच स्रोतसाधन, अधिकार, जिम्मेवारीजस्ता कुरा अझ ठूला विवाद आउन सक्छन् । त्यसैले समयमै दुवै सरकारबीच समन्वय भयो भने कार्मचारीले बीचमा पर्नुपर्ने हुँदैन ।’

प्रदेश सरकारले पास गरेका कानुन कार्यान्वयन गराउने दायित्व प्रमुख जिल्ला अधिकारीको हो । यसका अलवा प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीसम्मको सुरक्षा जिम्मा पनि अहिले जिल्ला प्रशासन कार्यालयहरूले हेर्दै आएका छन् ।

प्रदेश सरकारले गरेका हरेक निर्णय संघीय सरकारको मातहतमा रहेका कर्मचारीले कार्यान्वयन र पालना गर्नुपर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीको भनाइ छ । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्