काठमाडौं, ७ भदौ । सिद्धार्थ ग्यास उद्योग प्रा.लि.का शेयरधनी रमेशकुमार अग्रवालले आफूलाई सञ्चालक समितिका अध्यक्ष रामचन्द्र संघाईले हरहिसाब देखाउन माग गर्दा उल्टै धम्की दिएको गुनासो पोखेका छन् ।
बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै पिडित अग्रवालले यस्तो गुनासो पोखेका हुन् । बिगत छ वर्षदेखि सञ्चालन गर्दै आएको उक्त उद्योगमा २५ प्रतिशत परिवारले शेयर खरिद गरेको उननले जनाए ।
आफ्नो परिवारले २५ प्रतिशत, ५० प्रतिशत रामचन्द्र संघाईले र बाँकी २५ प्रतिशत सुभाषकुमार खेतानको नाममा भएको उद्योग अहिले पनि नाफामा रहेको पीडित अग्रवालको दाबी छ ।
तर, २०६९ सालबाट संघाइ समूहले एकलौटी सञ्चालन गरेको र आफ्नो हिसाब माग्दा यत्तिकै हडप्न खोजी धम्काएको अग्रवालले आरोप लाएका छन् । पीडित अग्रवालले भने,‘मैले मेरो भागमा भएको हिसाबकिताब चाहियो भनेर अनुनय–बिनय गर्दा उल्टै कम्पनीको नाममा थप शेयर खरिद गर्न लगाए । संघाईले म खान्छु, तलाई ठीक पार्छु भनेर मलाई धम्काइरहेको छ । मेरो करोडौ पैसा डुबेको छ, उल्टै मलाई धम्काएको छ । यही कारणले म शारिरीक अपाङग भएको छु ।’
अग्रवालले यसको निम्ति न्याय माग्न सम्बन्धित निकाय पुग्दा कतैबाट पनि न्याय नपाएको दुःखेसोसमेत पोखेका छन् । उनले भने,‘म आफ्नो शेयरको हिसाबकिताब खोजाई पाउँ भनेर वाण्ज्यि तथा आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, राजश्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल उद्योग वाणिज्य महासंघ, कम्पनी रजिष्ट्रारको कार्यालय, एलपी ग्यास उद्योग एशोशिएसनलगायत अन्य निकायसमक्ष धाएँ तर कतैबाट न्याय पाईन् ।’
सबै निकायलाई संघाई समूहले आफ्नो प्रभाव पारेको बताउँदै अन्तिम विकल्प मिडिया नै भएको जनाउदै अग्रवालले न्यायको लागि सबैसमक्ष अनुरोध गरेका छन् ।
प्रेस विज्ञप्ति
श्री आदरणिय पत्रकारज्यू
सर्वप्रथम त म सामान्य व्यवसाय गरेर जिविका चलाउदै आएको कुरा अवगत गराउन चाहान्छु । यसै क्रममा व्यवसायी रामचन्द्र संघाईसँग चिनजान हुन पुग्यो । प्रसंगवश संघाईले हामी मिलेर काम गरौं भन्ने सल्लाह बमोजिम २०६८ सालमा कर्जा लिएर सिद्धार्थ ग्यास उद्योग प्रा.लि.मा मैले म लगायत मेरो परिवारको सदस्यको नाममा २५ प्रतिशत शेयर खरिद गरें ।
५० प्रतिशत संघाई समुहको र बाँकी सुभाषकुमार खेतानको नाममा २५ प्रतिशत रहेको सिद्धार्थ ग्यास उद्योग निकै सफल रुपमा सञ्चालन हुदै आएको छ । सञ्चालक समितिमा अध्यक्ष रामचन्द्र संघाई, सुभाषकुमार खेतान र म रमेशप्रसाद अग्रवाल रही काम–कारवाही गर्दै आएका थियौं । कम्पनीको नाममा अहिले पनि करोडौंको चल–अचल सम्पती रहेको छ ।
तर, ०६९ सालबाट संघाई समूहले एकलौंटी रुपमा सञ्चालन गर्दै आएको मात्र छैन, मेरो हरहिसाब देखाउन बारम्बार आग्रह गर्दासमेत उल्टै गलहत्याउने प्रयास गरेको छ । संघाई समुहले मनोमानी गर्दै आएको छ । सञ्चालक समितिको बैठक विना नै अध्यक्षमा वीरेन्द्रकुमार संघाईलाई वनाइएको छ भने गैरकानुनि रुपमा बनाएका अध्यक्षको हस्ताक्षरबाट हाल आएर कम्पनीको नाममा थप शेयर हाल्न पत्र काटिएको छ । पहिला हालेको शेयर नै असुरक्षित भइरहेको अवस्थामा थप शेयर हाल्ने आर्थिक अवस्था मसँग छैन । पहिला हालिएको त्यही शेयरको हिसाव चाहियो भनेर अनुनय विनय गर्दा संघाई समूहले त्यत्तिकैै हडप्न षड्यन्त्रका साथ मलाई पेल्दै आइरहेको छ ।
म आफ्नो शेयरको हिसाव–किताव खोजाई पाउँ भनेर वाणिज्य तथा आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, राजश्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, उपभोक्ता हित संरक्षण मञ्च, नेपाल उद्योग वाणिज्य महासंघ, कम्पनी रजिष्टारको कार्यालय, एलपी ग्यास उद्योग एसोसियसन, आन्तरिक राजश्व विभाग, नेपाल आयल निगम, केन्द्रीय अनुसन्धान व्यूरोलगायत सम्वन्धित विभिन्न निकायमा पटक–पटक धाएँ । तर, मैले अहिलेसम्म कतैबाट न्याय पाउन सकिन । अझ भनौ संघाई समूहको साम, दाम, दण्ड, भेद सवै प्रयोग गर्ने गरेकाले सवै निकाय उसका अगाडि निरिह बने । त्यसैले राज्यको चौंथो अंग पत्रकारिता जगतको कदमबाटमात्रै मैले न्याय पाउँछु भन्ने पूर्ण विश्वासका साथ यहाँहरुसमक्ष विनम्र अनुरोध गर्न आएको छु ।
पीडित
रमेशकुमार अग्रवाल
रानी अग्रवाल (श्रीमती)
अनुज्ञा अग्रवाल (छोरी)
मिति २०७५/०५/७