काठमाडौँ । शिक्षा, स्वास्थ्य, स्वच्छ वातावरण र शुद्ध खानेपानीलाई मानिसको नैसर्गिक अधिकार भन्ने गरिएको छ तर दार्चुलाको महाकाली र शैल्यशिखर नगरपालिकाका कैयौँ स्थानका बासिन्दाले यसपालि पनि पिउने पानीको अभाव झेलिरहेका छन्।
त्यहाँका मानिस हिउँदमा पानीका लागि घन्टौँसम्म हिँडने गर्छन्। वर्षातको बेला भने आकासे पानीले केही भरथेग गर्ने गर्दछ।मानिसहरूलाई न्यूनतम सेवा र सुविधा उपलब्ध भएपछि मात्र कुनै गाउँलाई नगरपालिका घोषणा गर्ने गरिन्छ।
तर दार्चुलाको महाकाली र शैल्यशिखर नगरपालिकाका मानिसहरू वर्षौँदेखिको पानी संकटबाट अझै मुक्त हुन सकेका छैनन्।शैल्यशिखर नगरपालिकाको वडा नम्बर ४, ६ र ८ का बासिन्दा कैयौँ घन्टासम्म पैदल हिँडेर पानी ओसार्ने गर्द्छन्।
हिउँदमा उनीहरूको दुस्ख अझै बढ्छ भने वर्षातको समयमा उनीहरूलाई आकासे पानीमा भरपर्नुपर्ने बाध्यता रहेको छ।सात कक्षामा अध्ययनरत छात्रा सरस्वती धामी शैल्यशिखर नगरपालिकाको वडा नम्बर ४ मा बसोबास गर्छिन्।
उनी भन्छिन्, पानी ओसार्न जाँदा पढाइ छुट्छ। पानी ल्याउन धेरै समय लाग्ने हुँदा पढाइ लेखाइ बिग्रिने चिन्ता लाग्छ।यो नियती सरस्वती धामीले मात्रै होइन त्यो भेगका स्कुले सबैजसो छात्राले भोगिरहेका छन्।
दार्चुला भौगोलिक रूपमा विकट छ।बस्ती नजिकै पानीको मुहान नहुँदा मानिसहरू कैयौँ किलोमिटर परसम्म पानी लिन जाने गरेका हुन्।परी खोला जस्ता खानेपानी योजना सञ्चालन भए पनि पाइप लाइनहरू टुट्ने तथा पहिरो जाने लगायतका समस्या भएकाले बस्तीमा पानी नपुगेको अधिकारीहरू बताउँछन्।
शैल्यशिखर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष धनिदत्त भट्ट शुद्ध खानेपानीको व्यवस्थाका लागि पहल भइरहेको बताउँछन्।उनका अनुसार रातापानी, सेतकला र जिम खोली भन्ने ठाउँमा पानीको मुहान तथा खोला भएकाले उक्त ठाउँमा लिफ्ट भनिने बेसीबाट लेकमा पानी तान्न प्रयोग हुने पद्दतीका लागि पहल भइरहेको छ।
त्यो पूरा नभएसम्म सरस्वती धामी जस्ता बालिकालाई पढ्न छोडेर पानी लिन जानुपर्ने बाध्यता हट्ने छैन।बीबीसी