Logo

भारत र नेपालबीच सम्झौता हुने



काठमाडौं ९ भदौ । सम्मेलनको अवसरमा भारत र नेपालबीच दुई सम्झौता हुने भएका छन् । आगामी १४ र १५ को सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको अध्ययन र बल्क कार्गोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर (एमओयू) हुने भएको छ । यी दुवै एजेन्डामा ओलीको गत चैतमा भएको भारत भ्रमणमा समझदारी जुटेपछि एमओयूमा हस्ताक्षरका लागि बिमस्टेक सम्मेलनको अवसर पारिएको हो ।

भारतीय प्रधानमन्त्री मोदी बिमस्टेक सम्मेलन सुरु हुने दिन १४ गते नेपाल आउनेछन् । परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार एमओयूमा हस्ताक्षर गर्ने अधिकारी र मिति तय भएको छैन । ‘रेल्वे र बल्क कार्गोको एमओयूमा हस्ताक्षर हुनेछ,’ बिमस्टेक सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा शुक्रबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने ।

सम्झौतापछि रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ र ट्राफिकसम्बन्धी अध्ययन हुनेछ । रेल विभागका अनुसार यो अध्ययनका लागि भारतको रेल मन्त्रालयले एक कम्पनी छनोटसमेत गरिसकेको छ । उसले काम सुरु गर्न बाँकी छ । दुई देशबीचको एमओयू कुरेर बसेको छ । अध्ययन कार्य सक्न करिब ५/६ महिना लाग्नेछ । अध्ययन सकिएपछि रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी र निर्माण प्रक्रियाका अन्य बाटो खुला हुनेछन् । ‘प्रारम्भिक तयारीअनुसार रक्सौलबाट निजगढ हँुदै काठमाडौंको चोभारमा रेलमार्ग बनाउन खोजिएको हो,’ रेल विभागका महानिर्देशक अनन्त आचार्यले भने । उनका अनुसार यो रेलमार्ग करिब १ सय २० किलोमिटर दूरीको हुनेछ । ‘एमओयू नभएकाले काम अघि बढ्न सकेको थिएन,’ उनले भने, ‘अब हुने सम्झौताले बाटो खुला गरिदिनेछ ।’

बल्क कार्गो सम्झौताले वीरगन्जबाहेकका नाका नेपालगन्जको रुपैडिहा, भैरहवाको सुनौली र विराटनरको जोगबनी नाकाबाट पनि एकैपटक ठूलो परिमाणमा सामग्री आयात गर्न पाइनेछ । एकैपटक ठूलो परिमाणमा सामग्री आयात गर्न पाए बल्क कार्गोसँग सम्बन्धित सामग्रीहरूको ढुवानी लागत र मूल्य सस्तो हुनेछ । बल्क कार्गोमा फलाम तथा रड, सिमेन्ट, कोइला, क्लिंकर, मल र दैनिक उपभोग्य सामग्रीहरू चिनी, भटमास, नुन, तरकारी, फलफूललगायत सामान पर्छन् ।

भारतसँगको यसअघिको सम्झौताअनुसार हाल एकैपटक ठूलो परिमाणमा प्याक गरी वीरगन्ज नाकाबाट मात्रै आयात गर्ने सुविधा छ । तेस्रो देशबाट आयात हुने बल्क कार्गोका सामग्रीहरूसमेत वीरगन्जबाहेकका नाकाबाट आयात गर्दा ससानो प्याकमा मात्रै ल्याउनुपर्ने बाध्यता छ ।

बिमस्टेक सम्मेलनको अवसरमा भारतसँग सम्झौता गरी यो झन्झट हटाउन खोजिएको हो । ‘सम्झौताका लागि पत्र प्राप्त भइसकेको छ,’ वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले भने । यी दुई सम्झौतासँगै मोदी र ओलीबीच द्विपक्षीय वार्ताको कार्यतालिका तय भएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए । ज्ञवालीले प्रधानमन्त्री मोदीले भारतीय सरकारको सहयोगमा पशुपति क्षेत्रभित्र निर्माण गरिएको धर्मशाला उद्घाटन गरी नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिए । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्