काठमाडौं ।
कविता-रक्तरंजित फूलहरू
चरम यातनामा
चरम सन्तुष्टिको खोजी गरिरहेका ,
हृदय गुमाएका ए निर्दयी भिडहरू हो
मान्छेभित्रै मानवता उदाङ्गै पारेका
नङ्गन मानसिकताहरू हो
सत्यलाई बहिस्कार गरि
यथार्थ नकार्न
अतिरेक अन्धोपनको अभिनयमा मस्त
ए पक्षपालकहरू हो
न्याय र सुरक्षाको प्रत्याभुती स्खलित पारी
अपराध उन्मुक्त गराइरहेका
ढोंगी रक्षक ए सत्ताधारिहरू हो
ब्यर्थ नमनाओ
आफ्नो बिजयको उत्सव
असाहय कोपिलाहरूको रगतमा होलि खेलेर
अस्मिताको परित्यक्त गर्दै ,
यातना चित्कार र दर्दहरूमा
निकालेर लासमाथि मुस्कानको जुलुस
अँह अँह अझै समय आएको छैन
ब्यर्थ नगर् भो यो बुराइको ताण्डव
क्षणिक छ यो बिकराल अन्धकार
घामको झुल्का संगै भोलि बिहान भयो भने ,
उज्यालोको ऐनाले छर्लङ्ग पार्नेछ तिमिहरूको
बिभत्स चेहेरा
नडराउनु , न अतालिनु ,
र नझुक्नु लज्जाबोधले त्यति बेला
आफू आफ्नै चेहेरा संग १
एकपटक हेरौं त पाखाभरी त्यो लस्कर
तिमिहरूका क्रुर हातहरूले अंग अंग लुछेर ,
पत्र पत्र च्यातेर ,
निमोठेर , निचोरेर
फालिएका मुर्दा फूलका
रगताम्य डोब-डोब हरू बाट
युगले उमारिरहेछ न्यायको खोजी गर्दै
अन्यायको विरुद्धमा
काँडा मिश्रित
लाखौं लाख रक्तरंजित रक्तिम फूलहरू
सुमिना अभिलाषी
बुटवल