Logo

वाग्मतीमा जलजात्रा



काठमाडौँ । नदी सभ्यता संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले १८ औँ वाग्मती नदी महोत्सव एवं जलजात्रा गरिएको छ । नेपाल नदी संरक्षण संस्था र फ्रेण्ड्स क्लब अफ कुपण्डोलको आयोजनामा भएको जलयात्रामा १८ डुङ्गा सहभागी थिए ।

कुपण्डोलबाट सुन्दरीघाटसम्मको चार किमी दुरीमा यात्रा गरिएको हो । वाग्मतीको पानी पनि उपत्यका बाहिरका नदीको जस्तै कञ्चन हुनुपर्छ, भन्ने लक्ष्यका साथ कामनाले १८ नदीको पानी वाग्मतीमा हालेको छ ।

मेची, कन्काइ, मस्र्याङ्दी, कर्णाली, महाकाली, ठूली भेरी, कालीगण्डकी, बूढीगण्डकी, सुनकोशी, अरुण, तमोर, बबई, पश्चिम सेती, इन्द्रावती, मार्दी, तिला, मुगु कर्णाली र दूधकोशी गरी १८ नदीको पानी मिसाइएको हो । जलजात्राको शुरुवात् गर्दे तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वाग्मती जस्ता सभ्यताको स्रोतका रुपमा रहेका नदीलाई सफा बनाउन विसं २०७५ लाई सरसफाइ वर्ष घोषणा गरिएको जानकारी दिएका छन।

“नदी स्वच्छ भएपछि पर्यटन प्रवद्र्धनका लागि जलयात्रालगायत आयआर्जनका काम पनि नदीमा गर्न सकिन्छ, पानी बढाएर नदीलाई स्वच्छ बनाउन सरकार दृढ छ, यसमा सबैको सहयोग आवश्यक छ”–उनले बताए ।

कार्यक्रममा सांसदद्वय पम्फा भुसाल र तेजुलाल चौधरी, संस्थाका अध्यक्ष मेघ आले लगायतले सभ्यता स्रोत नदी सफाइमा सबैको उत्तिकै साथ र सहयोग हुनुपर्नेमा जोड दिएका थिए ।

वरिष्ठ पत्रकार भैरव रिसालले भगवान्दास मानन्धर र हुतराम वैद्य जस्ता व्यक्तित्वले शुरु गरेको वाग्मती सफाइमा सरकारले आशा गरे जति काम नगरेको बताए। संस्थाले अहिले कुपण्डोलस्थित नदी किनारमा स्थानीयवासीलाई पानीको छेउमाल्याई अपनत्व जगाउने उद्देश्यले सांगीतिक कार्यक्रमको आयोजना गरिरहेको कार्यकारी निर्देशक मौसम खनालले जानकारी दिए ।

महोत्सव एवं जलजात्रा सन् २००१ देखि शुरु गरिएको हो । वाग्मतीका साथै देशभरका नदी प्राकृतिकरुपमै बग्न पाउनुपर्छ भनी संस्थाले अभियान चलाउँदै आएको जनाइएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्