Logo

तिम्बुपोखरी महोत्सवको तयारी



पाँचथर । प्रचारप्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले तिम्बुपोखरी महोत्सव गर्ने भएको छ ।

पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी स्वच्छ वातावरणमा तथा प्राकृतिकरुपमा सुन्दर देखिएको छ । उक्त पोखरी र यस आसपासका हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि महोत्सव गर्न लागिएको हो । पछिल्ला वर्षमा मानिसको आकर्षण र चर्चित बन्दै गएको तिम्बुपोखरी क्षेत्रको विकासका लागि ताप्लेजुङको सिदिङवा गाउँपालिकाले महोत्सव गर्न लागेको हो ।

चार हजार ४४८ मिटर उचाइमा यही भदौ २२ देखि २४ गतेसम्म विभिन्न कार्यक्रम गरी महोत्सव गर्न लागिएको गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिएका छन।

महोत्सवका लागि रु १४ लाख खर्च हुने अनुमान छ । महोत्सव सम्पन्न गर्न १०१ सदस्यीय मूल आयोजक समिति र नौ उपसमिति गठन गरिएको आयोजकले जनाएको छ ।

हिमाली क्षेत्रका रुपमा लिइने यो क्षेत्रमा पछिल्लो समय पदयात्रा गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । महोत्सवमा अवलोकन भ्रमण, सांस्कृतिक कार्यक्रम, चौरीको प्रदर्शन, दूधजन्य उत्पादनको प्रदर्शनीलगायत राखिएको छ ।

जैविक विविधताले भरिपूर्ण यस क्षेत्रमा केन्जो, माइकोपिलाजस्ता फूल तथा बहुमूल्य जडीबुटी अवलोक गर्न पाइन्छ । तिम्बुपोखरी महोत्सवलाई भव्य बनाउका तयारी थालिएको स्थानीय गोठ सञ्चालक भीम भण्डारीले जानकारी गराएका छन । महोत्सवमा नेपालका विभिन्न जिल्ला र भारतको सिक्किमबाट समेत पर्यटक आउने विश्वास आयोजकको छ ।

तिम्बुपोखरी क्षेत्रमै आगन्तुकलाई बस्ने व्यवस्था गर्ने तयारीसमेत गरिएको छ । उच्च पहाडी क्षेत्र भएकाले पदयात्रा गरेर यहाँ पुगिन्छ । पाँचथरको च्याङथापुबाट कालीखोला हुँदै अथवा पाँचथरको चिवाभञ्याङदेखि, इलामकोसन्दकपुर हुँदै यहाँ पुगिन्छ । रासस



प्रतिक्रिया दिनुहोस्