Logo

किशोरी हत्या प्रकरणः शुन्यबाट अनुसन्धानमा जुट्यो प्रहरी



काठमाडौं । १३ वर्षीया किशोरीका बलात्कारपछि हत्या भएको घटनाको कञ्चनपुर प्रहरीले प्रारम्भिक चरणबाट अनुसन्धान सुरु गरेको छ । घटना भएका दिन किशोरी पढ्न गएको घरका बम दिदीबहिनी रोशनी र बबितालाई नियन्त्रणमा लिएर घटनाका सुरुबाट अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेर कडायतले बताए ।

‘हामीले घटनाका नयाँ चरणबाट अनुसन्धान सुरु गरिसकेका छौं,’ शनिबार जिल्ला प्रशासन कार्यालयमा आयोजित सर्वपक्षीय बैठकमा एसपी कडायतले भने, ‘पीडित परिवार र स्थानीयले शंका गरिएका बम दिदी बहिनीलाई नयाँ कानुनी प्रक्रिया अनुसार अदालतबाट स्वीकृत लिएर पक्राउ गरिसकेका छौं।’ उनले किशोरीको शव भेटिएको घटनास्थलको पनि सुरुबाटै अनुसन्धान गरिने जानकारी दिए।

एसपी कडायतले प्रहरीले सबैलाई विश्वस्त हुने गरि अनुसन्धान गर्ने र त्यसमा सरोकारवाला सबै, स्थानीय र पीडित परिवारले सहयोगसँगै सहज वातावरण निर्माणमा सहकार्य गर्नुपर्ने बताए। ‘हामीले घटनास्थलसम्म पुग्ने वातावरण बनाइदिनुपर्‍यो, निर्धक्क भएर अनुसन्धान गर्न सक्नुपर्‍यो’ उनले भने, ‘स्थानीय र पीडित परिवारले सूचना दिएर सहयोग गर्न आग्रह गर्छु।’

उनले भर्खरै जिल्लामा आएकाले सबैको साथ र सहयोग पाउने अपेक्षा व्यक्त गरे। यसैगरि घटनाको निस्पक्ष छानविनका लागि आएको उच्चस्तरीय छानबिन समितिलाई पनि काम गर्ने वातावरण बनाइदिन सबैसँग उनले आग्रह गरे। कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्