Logo

शहीद खुनाको दाहसंस्कार, भीमदत्तनगरमा पुनः निषेधाज्ञा



कञ्चनपुर । शहीद शनि खुनाको आज महाकाली नदीमा दाहसंस्कार गरिएको छ ।दाहसंस्कार अघि भीमदत्त नगरपालिका–९ ब्रह्मदेव घाट पुगी प्रदेश नं ७ का प्रदेशसभा सदस्य तारालामा तामाङ र भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले शहीद खुनाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए ।

ब्रह्मदेव सीमा प्रहरी चौकीका प्रमुख दीपेन्द्र थापा नेतृत्वको प्रहरी टोलीले शहीद खुनाप्रति शोक सलामी अर्पण गरेको थियो । सरकारले शनिबार खुनालाई शहीद घोषणा गर्नुका साथै उनको परिवारलाई रु १० लाख आर्थिक सहायता दिने घोषणा गरेको थियो ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडि निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन गर्ने क्रममा प्रहरीको गोली लागेर खुनाको मृत्यु भएको थियो । नगर प्रमुख विष्टले थप सहयोगका लागि पहल गर्ने बताएका छन । उनले खुना परिवारलाई रु तीन लाख सहयोग गर्ने घोषणा गरेको जानकारी गराईएको छन ।

भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थान तोकेर आज बिहान १० बजेपछि पुनः निषेधाज्ञा लगाइएको हो । भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएको हो । अवस्था सामान्य बनेपछि आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि निषेधाज्ञा हटाइएको थियो ।

अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी रहने प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले जानकारी दिए । निर्मलाको हत्यारालाई कारवाहीको माग गरी स्थानीयवासी आन्दोलनमा छन् । शुक्रबार प्रहरीले चलाएको गोली लागेर भीमदत्त नगरपालिका–१८ का १४ वर्षीय शनि खुनाको मृत्यु भएपछि स्थिति जटिल बनेको हो । रासस



प्रतिक्रिया दिनुहोस्