काठमाडौँ । पर्वतका मनहरी शर्मा सेमेस्टर प्रणाली अन्तर्गत त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा पढ्न थालेको तीन वर्ष पुग्न लाग्यो । दुई वर्षमा सकिने भनेको स्नातकोत्तर तहको अध्ययन अहिलेसम्म नसकिँदा उहाँ निकै चिन्तित हुनुुहुन्छ ।
हाल उहाँ अंग्रेजी विषयमा स्नातकोत्तर गर्दै हुुनुहुन्छ । शुरुमा भर्ना हुँदा उहाँमा ठूलो उमंग र उत्साह थियो, अहिले छैन । छ महिनामा एउटा सेमेस्टर सकिने भनिए पनि दश महिना कुर्नुपरेको उहाँको गुनासो छ । सेमेस्टर प्रणालीले विद्यार्थीको भविष्य सुनिश्चित गर्नुभन्दा झनै अन्योल बनाएको उहाँ ठान्नुहुन्छ ।
उहाँको प्रश्न छ, “त्रिविले समयमा परीक्षा गर्न सक्दैन, नतिजा निकाल्न सक्दैन भने सेमेस्टर प्रणाली लागू गर्नुको के अर्थ रु”
सेमेस्टर प्रणालीमा छ महिनाभित्रै पढाइ सकिएर नतिजा प्रकाशन भइसक्नुपर्ने हो तर, नेपालमा भने बल्लतल्ल छ महिनामा परीक्षासम्म लिने काम हुन्छ । एक्काइसौं शताब्दी आइसक्दा पनि विद्यार्थीले डिजिटल प्रणालीमार्फत पढ्न पाउने व्यवस्था अँग्रेजी विभागमा हुनसकेको छैन ।
दाङकी मञ्जु खनाल पनि हाल विश्वविद्यालयमा अँग्रेजी विषयमा स्नातकोत्तर तहको अध्ययन गर्दै हुनुहुन्छ । विश्वविद्यालयमा अन्य कलेजको दाँजोमा नयाँ प्रविधिबाट अध्ययन अध्यापन हुनुपर्ने उहाँको बुझाइ छ ।
“भनेको बेला पानीसमेत पिउन नपाइने यहाँ आधुनिक प्रविधिअनुसारको शिक्षाको अपेक्षा कसरी गर्नु रु” आक्रोश पोख्दै मञ्जुले भन्नुभयो । वार्षिक प्रणालीमा भन्दा बढी शुल्क उठाएर पनि विद्यार्थीको अपेक्षा अनुरुप त्रिविमा पठनपाठन हुन नसकेको मञ्जुको ठम्याइ छ ।
विश्वविद्यालयमा सेमेस्टर प्रणाली लागू भइसकेपछि विद्यार्थीलाई वार्षिक प्रणालीमा जस्तो पढ्दै काम गर्ने सुविधा छैन तर पढाइमै एकाग्र हुन्छु भन्ने वातावरण पनि विश्वविद्यालयले दिएको छैन ।सेमेस्टर प्रणालीमा हरेक विद्यार्थीले ८० प्रतिशत हाजिरी अनिवार्य रुपमा पु¥याउनुपर्छ, तब मात्र परीक्षामा बस्न पाउँछ ।
विभागले परीक्षा लिन र नतीजा निकाल्न गर्दैआएकोे ढिलासुस्तीले पाँच वर्षमा पनि पढाइ सकिने हो कि होइन भन्ने द्विविधामा विद्यार्थीहरुलाई पारिदिएको छ । कहिले परीक्षा लिने, कहिले नतीजा प्रकाशन गर्ने भन्ने तालिकासहितको शैक्षिक पात्रो विश्वविद्यालयसँग छ तर लागू हुन सकेको छैन । सेमेस्टर प्रणालीमा पनि शिक्षकहरुले वार्षिक शैक्षिक प्रणालीकै शैलीमा अध्यापन गराइरहेको यस विभागमा अध्ययनरत विद्यार्थी भोजराज तिवारी बताउनुहुन्छ । केन्द्रमै यस्ता खालका समस्या भएपछि यसअन्तर्गतका अन्य आंगिक क्याम्पसमा समस्या नहुने कुरै भएन ।
केन्द्रीय विभागको व्यवस्थापनका लागि राखिएका कर्मचारीहरुले समयमा आफ्नो जिम्मेवारी पूरा नगरिदिँदा समस्या आएको त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका प्राचार्य कृष्णप्रसाद आचार्यले बताउनुहुन्छ । “क्याम्पसको व्यवस्थापन पक्ष कमजोर भएर नै समस्या आएको हो,” आचार्यले भन्नुभयो ।
कर्मचारीको व्यवस्थापन गर्ने जिम्मा त्रिवि कर्मचारी व्यवस्थापन विभागले गर्दै आएको छ । विश्वविद्यालयलाई जति जना कर्मचारीको आवश्यकता पर्छ, त्योभन्दा बढी दरबन्दी दिएको उहाँ बताउनुहुन्छ । तर काम भने त्यो अनुपात भएको देखिँदैन र त्यसको निगरानी पनि भएको पाइँदैन ।
सेमेस्टर प्रणालीमा गएसँगै अंग्रेजी भाषालाई अनिवार्य गरिँदा अनुत्तीर्ण हुने विद्यार्थीको संख्या बढेको पाइन्छ । स्नातक तहसम्म नेपाली भाषामै परीक्षा दिँदै आए पनि स्नातकोत्तर तहमा आइपुग्दा अचानक अंग्रेजी भाषामा परीक्षा दिनुपर्दा समस्या हुने गरेको पत्रकारिता विषय अध्ययन गर्दै आउनुभएका छात्रा पुजन लिम्बुले बताउनुभयो ।
विश्वविद्यालयको २०७५ को साउनमा प्रकाशित तथ्याँक अनुसार शिक्षा शास्त्र संकायमा हाल २४ हजार ७०३, व्यवस्थापन संकायमा २२ हजार ६०९, मानविकी तथा सामाजिकशास्त्र संकायमा १४ हजार २१५ र कानून संकायमा एक हजार ३५० विद्याथी अध्ययनरत छन् । यसैगरी विज्ञान तथा प्रविधितर्फ पाँच हजार ९५५, इन्जिनीयरिङतर्फ दुई हजार ७१२, चिकित्साशास्त्रतर्फ एक हजार ८२१, कृषि तथा पशु विज्ञानतर्फ ३२६ र वन विज्ञानतर्फ २१० विद्यार्थी अध्ययनरत छन् । प्राविधिकतर्फ गत वर्षको तुलनामा एक दशमलव १५ प्रतिशतले विद्यार्थीको संख्यामा वृद्धि भई १४।९१ प्रतिशत पुगेको छ ।
सेमेस्टर परीक्षामा सामेल विद्यार्थीहरुमध्ये ७३ हजार ९०१ जनाले ट्रान्सक्रिप्ट लिइसकेको त्रिविले जनाएको छ ।
विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय रुपमै प्रतिस्पर्धा गर्नसक्ने बनाउन अँग्रेजी भाषालाई अनिवार्य बनाइएको केन्द्रीय आमसञ्चार तथा पत्रकारिता विभागका प्रमुख चिरञ्जिवी खनाल बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “अंग्रेजी भाषाको व्यापकता र उपयोगितालाई हेरेर यसलाई अनिवार्य बनाइएको हो ।” सेमेस्टर प्रणालीको अवलम्बनले विद्यार्थीलाई नयाँ कुराको खोजी गर्न अग्रसर गर्नुका साथै विश्वविद्यालयको शिक्षालाई अन्तर्राष्ट्रिय हैसियत दिलाउने उहाँको भनाइ छ ।
त्रिविले केही समयअघि मात्र ३ जिपिए नल्याए विद्यार्थीहरु उत्तीर्ण नहुने नीति ल्याएको छ ।
विसं २०७० सालदेखि शुरु भएको सेमेस्टर प्रणालीमा उत्तीर्ण हुन २।७ जिपिए आए पुग्ने व्यवस्था थियो । सोही अनुरुप ३ जिपिए नल्याएका कतिपय विद्यार्थी ट्रान्सक्रिप्ट लिई छात्रवृत्तिमार्फत संयुक्त राज्य अमेरिका तथा अष्ट्रेलिया पढ्न गएपनि उनीहरु फर्किन परेको बताइन्छ ।
विश्वविद्यालयका अनुसार ३ जिपिए भन्दा कम आउने विद्यार्थीले फेरि परीक्षामा सामेल भई बढी अंक ल्याउन सक्नुुपर्छ । विद्यार्थी संगठनहरु शैक्षिक सुधारको मागलाई चर्काउन गरे पनि परीक्षा र नतीजा प्रकाशनको ढिलाइमा खासै बोल्ने गरेको पाइँदैन ।
त्रिविमा विश्वका अन्य विश्वविद्यालयको तुलनामा धेरै विषयको अध्यापन गराइने भएकाले व्यवस्थापनमा समस्या भएको त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँ बताउनुहुन्छ ।
“सेमेस्टर प्रणालीलाई व्यवस्थित गर्न अझै केही समय लाग्छ,” उहाँले भन्नुभयो । त्रिविमा हाल ३९ वटा विषयमा सेमेस्टर प्रणाली लागू छ र यस प्रणालीअन्तर्गत कुल ७३ हजार ९०१ विद्यार्थी अध्ययनरत छन् । रासस