Logo

अव नेपालमै युद्ध पर्यटन केन्द्रः मुख्यमन्त्री शाही



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनसेनाले प्रयोग गरेको शिविरलाई युद्ध पर्यटनका रुपमा विकास गर्ने बताएका छन ।

तत्कालिन शाही नेपाली सेना र तत्कालिन जनसेना समायोजनपछि आज पहिलोपटक सुर्खेतको दशरथपुरस्थित ब्यारेक पुगेका मुख्यमन्त्री शाहीले जनसेनाको शिविर संरक्षण गरेर युद्ध पर्यटनका रुपमा विकास गर्नुपर्ने बताका छन ।

लडाकुहरु अर्थात् जनसेनाले प्रयोग गरेका संरचनालाई संरक्षण गर्न जरुरी रहेको मुख्यमन्त्री शाहीले बताएका छन । “यसलाई संरक्षण गर्न जरुरी छ”, उनले जानकारी गराए।

आफूले छैटौँ डिभिजनको नेतृत्व गरिरहँदा रसिया, अमेरिकालगायतका देशका विद्यार्थीले लडाकुबारे अनुसन्धान गरेको बताउँदै उनले इतिहासलाई बचाउन लडाकुले प्रयोग गरेका सबै संरचनालाई संरक्षण गर्नुपर्नेमा जोड दिएका छन ।

उनले भने, “हाम्रो यो शिविरलाई विदेशीबाट समेत महत्व दिएर यसको अनुसन्धान गरी उनीहरुले शिक्षा प्राप्त गरेका छन् । यो हाम्रो सम्पदा भएकाले यसलाई युद्ध पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न जरुरी छ ।”

विगतमा लडाकुले प्रयोग गरेका संरचना र सामग्रीलाई सङ्ग्रालय बनाई पर्यटनका रुपमा विकास गर्न पहल गर्ने उनले जानकारी दिए । राज्यसत्ता परिवर्तन नगरी समृद्ध नेपाल निर्माण नहुने भन्दै मुख्यमन्त्री शाहीले जनयुद्ध गर्नुपरेको बताएका थिए।

मुख्यमन्त्री शाहीले सुर्खेतको दशरथपुरमा रहेको छैटौँ डिभिजनको दुई वर्ष नेतृत्व गरेका थिए । तत्कालीन माओवादी सेनाका मुख्य र सहायक शिविर गरी २१ वटा अस्थायी शिविर रहेका थिए । त्यसैमध्येका तीन वटा सुर्खेतको लेकबेंसी नगरपालिकाको दशरथपुरमा थिए ।

कर्णाली प्रदेशको मुख्यमन्त्री भएपछि पहिलोपटक ब्यारेक हेर्न पुगेका शाहीले आफू बसेको भवन, ब्यारेक तथा आफूले प्रयोग गरेका गाडीको अवलोकन गरेका थिए । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा निर्माण गरिएको जनमुक्ति सेनामा डिभिजन कमाण्डरका रुपमा काम गरेका थिए।

माओवादी सेनाले प्रयोग गरेका व्यारेक जीर्ण भई घाँसेझाडीमा परिणत भएकाले सरकारले यसको संरक्षण गर्नुपर्ने कर्णाली प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताईन ।

मन्त्री केसीले यसको इतिहासलाई बचाउनु प्रदेश सरकारको दायित्व भएकाले संरक्षणका लागि सरकारले आवश्यक पहल गर्ने जानकारी गराए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot