काठमाडौं । अभिनेत्री रेखा थापाले एक स्मारिकामा अन्तर्वार्ता दिँदै यूवास्टार अनमोल केसीलाई लक्षित गर्दै २,३ वटा फिल्म हिट भएको भरमा नयाँलाई ‘मेघास्टार’ भनिनु गलत रहेको र मिडियाहरु जे पायो त्यहि उपाधी दिदै हिडेको प्रति दुखेसो पोखेकी थिइन् ।
१५ वर्षदेखि ब्याक टू ब्याक हिट फिल्म दिएपनि मिडियाले आफूलाई भने ‘मेघास्टार’ र ‘महानायिका’ भन्न डराएकोमा उनको चित्त दुखाई थियो । उनको यो अभिव्यक्तिले सिनेवृतमा ठूलै तरंग ल्यायो ।
आफूले आफ्नो लागि ट्याग खोजेको भन्दै उनको तीव्र आलोचना भयो । विवादले उग्र रुप लिएपछि अभिनेत्री थापाले फिल्म मालिका को गीत सार्वजनिक कार्यक्रममा आफूलाई ‘मेघास्टार’ र ‘महानायिका’ को ट्याग नचाहिने स्पष्ट पारेको समाचार फिल्मी खबरमा छ ।
लगालग बक्सअफिसमा हिट फिल्म दिएपछि अहिले अभिनेता अनमोल केसीलाई दर्शकले ‘मेघास्टार’ भन्न थालेका छन् । आफूलाई ‘मेघास्टार’ भनिएको प्रति रेखाको आपत्तिपूर्ण भनाईलाई लिएर उनले कुनै प्रतिक्रिया जनाएनन् ।
हुनत, उनी आफ्नोबारे राम्रो हुन् वा नराम्रो कुनै कुराको टिप्पणी गर्दै हिँड्दैनन् । आफूलाई ‘मेघास्टार’ भनिएको प्रति रेखाको रोइलोलाई पनि उनी सामान्य रुपमा लिन्छन् ।
शनिवार अनमोल इभ का लागि बुटवल उड्दै गर्दा अनमोलले रेखाको अभिव्यक्तिको विषयमा आफ्नो गहकिलो तर्क राखे । टाइटल मागेर पाइने चिज होइन । टाइटल भनेको दर्शकले दिने कुरा हो । म त भर्खर आएको कलाकार हुँ । म आफूलाई स्टार सम्झिन्नँ, उनले भने ।
उनी अभिनेत्री रेखा थापा आफ्नो लागि रेक्सपेक्टेड आइडल रहेको बताउँछन् । उहाँको नेपाली फिल्म क्षेत्रमा महत्वपूर्ण योगदान छ, अनमोलले थपे, मेरो लागि त उहाँ नै ‘मेघास्टार’ हो । उनी अहिले आफ्नो छैठौं प्रोजेक्ट ‘क्याप्टेन’ मा व्यस्त छन् ।