Logo

म्यानचेस्टर युनाइटेड टोटनह्यामसँगको खेलमा पराजय



काठमाडौँ। म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा खराब प्रदर्शन गरेको छ । लिग अन्तर्गत सोमबार राति भएको तेस्रो खेलमा माउरिसिओ पोकेटिनोको टिम टोटनह्यामले मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडलाई ३–० ले पराजए गराएको छ।

घरेलु मैदानमै म्यानचेस्टर युनाइटेडले खराब हार बेहोरेको हो । पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा म्यानचेस्टर युनाइटेड दोस्रो हाफमा आफुलाई बराबरीमा लैजान सकेन।

५० औँ मिनेटमा केनले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाएका थिए। त्यसको दुई मिनेटपछि मोउराले गोल गर्दै अग्रता दोब्बर पार्न सफल रहे। ८४ औँ मिनेटमा मोउराले व्यक्तिगत दोस्रो गोल गरेपछि जोसेको टिम ३–० ले पराजित भयो ।

ब्राइटनसँग पराजित भएको म्यानचेस्टर युनाइटेडले तेस्रो खेलमा जित निकाल्ने अपेक्षा गरिएको थियो । तर जोसेको टिमले लगातार दोस्रो हार बेहोर्‍यो ।

पोकेटिनोको टिम टोटनह्यामले भने लिगमा विजयी यात्रा कायम राखेको छ । लगातार तेस्रो जित निकालेको टोटनह्याम ९ अंकसहित दोस्रो स्थानमा छ । युनाइटेडले गोल गर्ने ६ वटा राम्रा मौका बनाए पनि गोल भने गर्न सकेन । टोटनह्यामको जितमा ह्यारी केनले एक तथा लुकास मोउराले दुई गोल गरेका थिए ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot