काठमाडौं । प्रा.डा.गोविन्द केसीले आफुसँग भएको सहमति सरकारले कार्यान्वयन नगरेको भन्दै सिंहदरबारमा नफर्किने चेतावनि दिएका छन् । उनले भने,‘संसदीय समितिको सम्मान गर्न म यहाँ आएको हुँ, मसँग गरिएका सहमतिहरु पालना नगर्ने परिपार्टी यो सरकारले पनि देखायो, त्यसैले सिंहदरबार छिर्दिन, बरु २० पटकसम्म पनि अनशन बस्न तयार छु ।’
स्वास्थ्य शिक्षा र स्वास्थ्य सुधारका लागि पटकपटक सत्याग्रह गर्नुपर्ने अवस्था आउनु शोभनीय नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा आफ्नो लिखित धारणा राख्दै डा.केसीले स्वेच्छाचारी शासन व्यवस्था भएका मुलुकहरुमा समेत नागरिकहरुको स्वास्थ्यमाथि त्यस्तो खेलबाड नगरिने बताए।
देशको करिब ८० प्रतिशत जनता बस्ने ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको अवस्था असाध्य नाजुक छ । फलस्वरुप अहिले पनि स्वास्थ्यका धेरै सूचकहरुमा हामी संसारमा देशहरुको सूचीमा निक्कै तल छौं, डा.केसीले भने, मुख्य राजनीतिक दलहरु जति समाजवादी वा साम्यवादी भएको देशमा यस्तो हुनु लाजमर्दो कुरा हो।
समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ माथि छलफल गर्न डा गोविन्द केसीलाई बोलाएको थियो। तर डा.केसी दोहोरो छलफलमा भने बसेनन् ।
तस्बिर : मुकन्द कालिकोटे