Logo

एसिया कप क्रिकेट छनोट : नेपालद्धारा ओमानसामू २२२ रनको लक्ष्य प्रस्तुत



काठमाडौं, १३ भदौ । एसिया कप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले ओमानलाई २२२ रनको लक्ष्य दिएको छ । क्वालालम्पुरमा बुधबार बिहान सुरु भएको खेलमा पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २२१ रन बनाएको हो ।

८० रनको स्कोरमा चार विकेट गुमाइसकेको अवस्थामा नेपालका लागि सागर पुन र आरिफ शेखले पाँचौं विकेटका लागि ९२ रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक स्कोरतर्फ डोर्‍याएका थिए । सागरले ८३ रन बनाउँदा आरिफले ३६ रन बनाए ।

प्रारम्भिक ब्याट्सम्यान सुवास खकुरेल ४ रनको व्यक्तिगत स्कोरमा रनआउट भए पनि अर्का प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ४५ रन बनाए । कप्तान पारश खड्का ८ रन बनाउँदै बाहिरिए भने दीपेन्द्रसिंह ऐरीले ९ रन बनाए ।

ओमनका लागि कलीमुल्लाहले कसिलो बलिङ गर्दै नेपाली ब्याट्सम्यानलाई रन बनाउनबाट रोकेका थिए । १० ओभर बलिङ गरेका उनले विकेटमा सफलता हात नपारे पनि २.९० को औसतमा मात्र २९ रन दिए ।

ओमनका बलर अजय लालचिता, मोहम्मद नदिम र विलाल खानले दुई÷दुई विकेट लिए । नेपालले तीन विकेट रनआउटमा गुमाएको हो ।



प्रतिक्रिया दिनुहोस्