काठमाडौँ । पश्चिमी इराकको अल क्वाम नगरमा बुधबार एक व्यक्तिले आत्मघाती बम जडान गरेको कार प्रहरीको गस्तीमा लगेर ठोक्काउँदा भएको विस्फोटमा परी ११ जनाको ज्यान गएको छ ।
उक्त कारबम हमलामा परी ज्यान जानेमा कम्तीमा पाँच जना प्रहरी परेका बताइएको छ । प्राप्त समाचारअनुसार उक्त आक्रमण एकजना व्यक्तिले आफ्नो कारमा विस्फोटक पदार्थ राखेर गराएको हो ।बुधबार भएको सो बम हमलाको कारण पत्ता लाग्न सकेको छैन । साथै आत्मघाती हमलाकारीको पनि सोही विस्फोटमा ज्यान गएकोले थप सूचना प्राप्त भएको छैन ।
उक्त नगर सिरियाको सीमा क्षेत्रबाट नजिक पर्दछ र उक्त सीमा क्षेत्र इराकी राजधानी बग्दादबाट ३४० किलोमीटर टाढा पर्दछ । सो नगर पछिल्लो समयमा आइएस लडाकूबाट इराकी सरकारले फिर्ता गरेको थियो । आइएसका सशस्त्र लडाकूहरुले उक्त नगरलाई पहिला कब्जा गरेर केही महिना आफ्नो नियन्त्रणमा राखेका थिए ।
सोही नगरमा बुधबारै बिहान करिब ९ बजेतिर अर्को बम विस्फोट भएको पनि समाचारमा जनाइएको छ । उक्त विस्फोटमा परी अरु १६ जना सर्वसाधारण घाइते भएका छन् ।
घाइते हुनेमा पाँच जना प्रहरी पनि परेका छन् । यो विस्फोट पनि प्रहरीको गस्ती रहेको स्थानमा लगी गराइएको थियो । यसरी आज सो नगरमा गराइएका यी विस्फोट पूर्व नियोजित रुपमा नै भएका बताइएको छ । रासस