Logo

सिंजालाई आङ्गिक क्याम्पस सञ्चालनको अनुमति



सुर्खेत । तत्कालीन कर्णाली खस राज्यको राजधानी जुम्लाको सिंजाले यही भदौ १० गतेदेखि आङ्गिक ‘सिंजा बहुमुखी क्याम्पस’ पाएको छ ।

मध्यपश्चिम विश्वविद्यालयको आइतबार काठमाडौँमा बसेको आठौं सिनेट सभाबाट पश्चिम नेपालका आठवटा क्याम्पससँगै यसले आङ्गिक क्याम्पस सञ्चालनको अनुमति पाएको हो । यसले सिंजावासीलाई खुशी मात्र बनाएको छैन, उच्च शिक्षा प्राप्तिका लागि काठमाडौँ धाउनुपर्ने बाध्यताबाट मुक्ति पनि दिलाएको छ ।

तत्कालीन नेपाल एकीकरणका अभियन्ता पृथ्वीनाराण शाहका महिला राजकुमार बहादुर शाह नेतृत्वको फौजले विसं १८४६ मा बाइसे र चौबिसे राज्यमा शक्तिशाली मानिएको कर्णाली खस राज्यको राजधानी सिंजालाई अधीनमा लिएपछि अहिलेसम्म त्यहाँ पूर्वाधारका कुनै पनि ठूला संरचना बनेका छैनन् । सिंजा दरबारको संरक्षण त के अवशेषहरु खोज्नसमेत खासै चासो दिइएको पाइँदैन ।

पर्यटकीय केन्द्र राराको आकर्षणले नाग्म–गमगढी ९१ किलोमिटर सडक बनेको छ । त्यही सडकखण्डमा तत्कालीन कर्णाली खस राज्यको राजधानी अर्थात हालको सिंजा पर्दछ । सडक बनेको चार वर्ष भयो तर, कालोपत्र हुन सकेको छैन । स्वास्थ्य क्षेत्रको चौकी बाहेक अस्पताल भेटिँदैन । न त्यहाँ दीर्घकालीन सेवा दिने विद्युत् छ न त भरपर्दो सञ्चार सेवा नै ।

राज्य संयन्त्रका विशेष संरचना बन्न नसकेकै कारण सिंजाका नागरिकहरु सानो कामका लागि अहिले पनि केन्द्रकै मुख ताक्न बाध्य छन् । भाषा, साहित्य, कला, संस्कृति र सामरिक महत्वको सिंजाको इतिहास आजसम्म ओझेलमा छ ।

तत्कालीन सिंजाको संरचना ध्वस्त पारिएयता त्यो क्षेत्र शाह वंशीय शासकहरुको रोष र दमनको छायाँमै बाँच्न बाध्य भयो । सवा दुई शताब्दी भन्दा लामो कालखण्डसम्म विकासका गतिविधि कर्णालीमा भएनन् । कर्णालीको इतिहाससम्बन्धी जानकार रमानन्द आचार्यका अनुसार दुई–तीन पटकको कुटिल चालपछि मात्र गोर्खाली फौज राजधानी सिंजा कब्जा गर्न सफल भएको थियो । यद्यपि अन्तिम पटकको आक्रमणमा समेत तत्कालीन राजा शोभान शाहीले आत्मसमर्पण नगरी तिब्बततिर लागे । नरसंहार भयो । गोर्खालीहरुलाई त्यहाँका जनतालाई आफ्नो काबुमा लिन हम्मेहम्मे भएको थियो ।

“सिंजा अधीनमा लिएपछि पनि त्यहाँको शासक शरणमा नआएको ईखमा गोर्खाली राजाहरुको केन्द्रीकृत शासन प्रणालीले कर्णालीलाई सयौं वर्षसम्म दमन गरिरह्यो,” उनले भने – “केन्द्रले कर्णालीलाई प्रधान दुश्मनको व्यवहार गरेकै कारण आज पर्यन्त कर्णालीको अपेक्षित विकास हुन नसकेको हो ।”

इतिहाससम्बन्धी जानकार प्रेम कैदीले आफ्नो आलेखमा उल्लेख गरेका छन – “पूर्वीय जीवनमा हिन्दु र सिन्धु दुवै सभ्यताको जननी कर्णाली हो ।” योगी नरहरिनाथको कथनलाई उद्धृत गर्दै ‘सिन्धु र हिन्दु सभ्यता एवं धर्म, संस्कृति मात्र होइन, त्यसको पहिलो भाग मानव उत्पति कैलाश पर्वत कर्णालीको शिरमा छ’ भनी उहाँले वर्णन गर्नुभएको छ । उनका अनुसार त्यति महत्वको पवित्र भूमिप्रति राज्यले निकै ठूलो अन्याय गरेको देखिन्छ ।

कनकासुन्दरी गाउँपालिका लुड्कुका गौरीलाल न्यौपाने भन्छन, “राज्यको शासकको भूमिकामा रहेको गोर्खाले राणाकालीन समयसम्म पनि कर्णालीमा कडा प्रशासक पठाएर दबाउने काम ग¥यो । जुम्लासहितको कर्णाली क्षेत्रलाई अभावग्रस्त बनाइरह्यो ।” कर्णालीसँग उतिबेलाको ईख साटेर पनि केन्द्रले यहाँको सर्वाङ्गीण विकासमा बिर्को लगाउने गरेको उनको आरोप छ ।

तत्कालीन संविधान सभाका सदस्य नरेश भण्डारीले सिंजामा क्याम्पस स्थापना गर्ने विषयको फाइल अघि बढाएर त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिन निकै कठिनाइ झेल्नुपरेको अनुभव सुनाए । फाइल स्वीकृत गराउँदा त्रिविका पदाधिकारीसँग जङ्गिएर “रक्सी भट्टी होइन, दुर्गम स्थानमा शिक्षालय खोल्दैछौं, नरोक्नुहोस्” भन्नुपरेको वाक्य आज पनि मानसपटलमा ताजा रहेको उनी स्मरण गर्छन ।

सिंजा जुम्लामा क्याम्पस स्थापनार्थ सम्बन्धन माग्ने सभासद् भण्डारीका स्वकीय सचिव रहेका सिंजा गाउँपालिका निवासी तीर्थबहादुर नेपाल अहिले सिंजा बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख हुन्छ । उतिबेला क्याम्पस प्रमुख नेपालले मात्र एसएलसी गरेका छन ।
सिंजा बहुमुखी क्याम्पस जुम्ला विसं २०६६ सालमा स्थापना भएको थियो । विसं २०६७ सालदेखि त्रिभुवन विश्वविद्यालयको सामुदायिक क्याम्पसका रुपमा यसले अध्ययन अध्यापनको काम गर्दै आएको क्याम्पस प्रमुख नेपालले जानकारी गराए।

“स्नातक तहको क्याम्पस पाउन सिंजाले २२९ वर्ष कुर्नु परेछ,” उनले भने – “राजतन्त्रले गरेको नाकाबन्दी गणतन्त्रले खोल्यो । अझै यहाँ आवश्यक संरचना निर्माण हुन बाँकी नै छ ।” उहाँका अनुसार शिक्षा र व्यवस्थापन संकाय सञ्चालनमा ल्याएको उक्त क्याम्पसमा हाल १५१ विद्यार्थी अध्ययन गरिरहेका छन् । यद्यपि जनशक्तिको अभावले दुईजना बाहेक १२ जनाले आंशिक कक्षा लिइरहेको उनको भनाइ छ । हाल जुम्ला, मुगु, कालिकोट र बाजुरा जिल्लाका विद्यार्थीहरु उक्त क्याम्पसमा अध्ययन गरिरहेका छन् ।

विश्व इतिहासमा अद्वितीय सभ्यता बोकेको कर्णाली माथि उठ्न नसक्नुमा राज्य नै दोषी रहेको कर्णालीवासीको दावी छ । कर्णाली आज पनि विकासको तिर्खाले व्याकुल छ । सिंजा बहुमुखी क्याम्पस जस्तै स्वास्थ्य, यातायात, विद्युत्, सञ्चार, खानेपानी लगायतका पूर्वाधारको उच्चतम विकासमा राज्यको ध्यान पुग्नुपर्ने उनीहरु बताउँछन् । रासस



प्रतिक्रिया दिनुहोस्