काठमाडौं १५ भदौ । सम्मेलनमा सहभागी हुन आएका बिमस्टेक सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुका लागि ‘रिट्रिट’ होटल सोल्टीमै हुने भएको छ । चाबहिल–जोरपाटी–गोकर्णको सडक अवस्था तत्काल सुधार गर्न नसकेपछि सरकारले सम्मेलन अडायोजना स्थलमै ‘रिट्रिट’ गर्ने भएको हो । ‘यसपटक होटल सोल्टीमै हुने भएको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले चाबहिल–जोरपाटी–गोकर्ण सडक स्तरोन्नति गरी रिट्रिट गोकर्ण रिसोर्टमै गर्ने गृहकार्य गरेको थियो । ‘वर्षाका कारण द्रुतगतिमा त्यो सडक सुधार गर्न सकिने अवस्था नै भएन,’ मन्त्रालयका सचिव मधुसूदन अधिकारीले भने, ‘सडक बनाउन नसक्ने जानकारी गराएपछि सोल्टीमै गर्ने भनिएको छ ।’
सामूहिक तथा व्यक्तिगत अनौपचारिक छलफल तथा कुराकानीका लागि ‘रिट्रिट’को आयोजना गरिन्छ । सम्मेलनमा सहभागी भएका कार्यकारी राष्ट्रप्रमुखहरुका लागि द्विपक्षीय तर अनौपचारिक कुराकानीका लागि ‘रिट्रिट’ महत्वपूर्ण मानिन्छ । ठूला सभा सम्मलेनहरुमा त्यसैका लागि रिट्रिट अवधारणा आएको हो । ‘सम्मेलनस्थल भन्दा बाहिर नै गर्न सकेको भए निकै राम्रो हुन्थ्यो,’ पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले भने, ‘तर सुरक्षा तथा अन्य परिस्थितिवश सम्मेलनस्थलमै पनि रिट्रिट गर्न सकिन्छ ।’
आयोजक मुलुक, सुरक्षा, पूर्वाधार तथा सवारीको अवस्था अनुसार ‘रिट्रिट’ को स्थान फरक पर्ने उनले बताए । नेपालले आयोजना गरेको सार्क शिखर सम्मेलनमा धुलिखेलमा ‘रिट्रिट’ को आयोजना गरेको थियो । यसपटक गोकर्णमा गर्ने भनिए पनि सडक बनाउन नसकेकाले सोल्टीमै हुन लागेको हो । कान्तिपुरबाट