Logo

अगाडि बढ्ला त काठमाडौं-रक्सौल रेल योजना ?



काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालका खाडीको प्रयास बिम्स्टेकको चौथो शिखर सम्मेलन कै छेको पारेर प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रवार काठमाण्डू–रक्सौल रेलसेवाको अध्ययन अगाडि बढाउने समझादरीपत्रमा हस्ताक्षर हुने अधिकारीहरूले बताएका छन् ।

दुवै देशका प्रधानमन्त्रीहरूले यसअघि नै सैद्धान्तिक प्रतिबद्धता जनाइसकेको सो विषयलाई यस समझदारीले व्यावहारिक तहमा गति दिने विश्वास अधिकारीहरूले व्यक्त गरेका छन् ।

भारतसँग रेल जोड्ने कुरा यसअघि संयुक्त वक्तव्यहरूमा उठेका थिए । तर शुक्रवार हुने द्वविपक्षीय वार्तापश्चात् रेलको विषयमा मात्र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए।

अध्ययन

प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्भे नाम दिइने उक्त अध्ययन एक प्रकारको पूर्वसम्भाव्यता अध्ययन हुने र त्यसले भारत जोड्ने रेलको आधारभूत प्रकृतिहरू निर्क्यौल गर्ने नेपालको रेल विभागका अधिकारीहरूले बताएका छन्।

भारत सरकारले आफ्नै लगानीमा गर्ने बताएको यस अध्ययनले सुरक्षित भूबनोट पहिचान गर्दै लम्बाइको एउटा खाका दिनेछ। विभागका अधिकारीहरूको आकलनमा रक्सौलसम्मको रेल मार्ग १३० किलोमिटर हाराहारीमा हुने बताइएको छ।

रेल विभागका महानिर्देशक अनन्त आचार्य भन्छन्, भारतसँगको रेलको कुरा अहिलेसम्म दुई प्रधानमन्त्रीले चासो दिएको विषय थियो अब अभिलेखीकरण भएर एक कदम अगाडी बढ्नेछ।

चुनौती

प्रस्तावित रेलमार्गको सुरुवाती र अन्य विन्दुबीच झन्डै एक हजार मिटरको उचाइ भिन्नता रहेकोले मालबाहक रेललाई सहज हुने उपयुक्त बाटो पहिचान गर्नु मुख्य काम रहेको उनीहरूको भनाइ छ।

उक्त रेलको झन्डै ३० किलोमिटर खण्ड उकालो भूभागमा पर्ने बताइएको छ । चीन जोड्ने केरूङ काठमाण्डू रेलवेको प्रारम्भिक अध्ययनको केही अनुभव लिइसकेको विभाग दक्षिणतर्फको काम भने त्यसको तुलनामा प्राविधिक रूपमा धेरै जटिल नहुने विश्वासमा छ।

विभागका महानिर्देशक थप्छन्, नेपाल-भारत सीमासम्म रेल आइसकेको लाभका कारण पनि सोचेजसरी भएमा पाँच-सात वर्षमा काठमाण्डूमा रेल आइपुग्न सक्छ।

यद्यपि छिमेकी दुवै देशबाट रेल आउने योजना भइरहँदा ती पछि आपसी सञ्जालमा जोडिन्छन् कि जोडिँदैनन् भन्नेबारे सरकारी अधिकारीहरू प्रतिक्रिया जनाउन हतारो हुने र त्यो काम त्यस बेलाकै नेपालको आवश्यकताले निर्क्यौल गर्ने बताए। बीबीसी नेपाली



प्रतिक्रिया दिनुहोस्