काठमाडौं । नुवाकोट शिवपुरी गाउँपालिका–१ का अनन्तराम केसीले ९० घण्टा दुई मिनेट निरन्तर वक्तव्य दिएर विश्व कीर्तिमान कायम गरेका छन् ।
भदौ ११ गते बिहान ६ बजेदेखि निरन्तर वक्तव्य दिएका उनले बिहीबार मध्यरातसम्म निरन्तर वक्तव्य दिएर उक्त किर्तिमान कायम गरेका हुन । केसीले भारत केरेलाका केपी भाल साराजानले ८१ घण्टा १६ मिनेट बोलेर कायम गरेको विश्व कीर्तिमानलाई समेत केसीले तोडेका छन् । न्यू माइन्ड्स एकेडेमीको आयोजनामा केसीले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित इष्टपोल स्कूलमा वक्तव्य दिएका थिए ।
निरन्तर ९० घण्टा दुई मिनेट बोलेर विश्व कीर्तिमान रारेका केसीलाई गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिनिधि सोप्नील डाङ्गारीकार, प्रदेश सांसद जीवन डङ्गोलले संयुक्तरूपमा प्रमाणपत्र वितरण प्रदान गरेका थिए । नेपालको ७७ वटै जिल्ला र भारतको ६ प्रान्त गरी १२ हजार ५०० किलोमिटर पैदलयात्रा गरिसकेका केसी एक आध्यामिक साधक हुन ।
२१ दिन जल उपबास र ६ महिना मौन ध्यान साधना पूरा गरेका केसीले यसअघि ८० घण्टा लगातार वक्तव्य दिएर पनि प्राविधिक कारणले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउनबाट चुकेका थिए ।