Logo

जनजातिको भवन निर्माण कार्य अपुरो



मोहन तामाङ: भोजपुर । जिल्लाको षडानन्द नगरपालिका वडा नं. ८ निगुरेमा निर्माणाधिन आदिबासी जनजातिको भवन अलपत्र परेको छ । नगरपालिकाबाट विनियोजित १० लाख रुपैंयाको निर्माणाधिन भवन अलपत्र परेको हो । गत आव २०७३-०७४ को १० लाख बजेटमा २० प्रतिशत जनश्रमदान सहित भवन निर्माण सुरु भएको थियो ।

श्रमदान बराबरको रकम श्रोत खोजेर २ लाख समेत उपलब्ध भएको थियो । सामुदायिक वनबाट १ लाख गरेर जम्मा १३ लाखमा निर्माण उपभोक्ता समितिका अध्यक्ष दिपक भुजेलको अध्यक्षतामा भवन निर्माण सुरु गरिएको थियो ।

उक्त भवन निर्माण गर्ने समय बर्षायाममा भएको र अरुण नदीमा पक्की पुल नहुदाँ डुंगाबाट सामान तार्नु समस्या परेकोले निर्माण कार्य सम्पन्न गर्न नसकिएको अध्यक्ष दिपक भुजेलले बताए । बाहिरबाट हेर्दा काम नदेखे पनि भित्री रुपमा काम धेरै भएको र त्यति काम गर्नको लागि धेरै संघर्ष गर्नू परेको बताए ।

अरुले बजेट अुसारको काम भएन र पैसा हिनामिना गरेको छ भन्ने आरोप लगाए पनि निर्माण कार्य सुरुदेखि अहिलेसम्म १ रुपयाँ पनि पैसा हिनामिना नगरेको बरु आफ्नो गोजिको केहि रुपयाँ खर्च भएको दाबि गरे ।

नगरपालिकाले २०७३-०७४ मा बजेट विनियोजन गरे पनि अहिले विभिन्न राजनितिक दलका प्रतिनिधिहरुले समेत उक्त स्थान सही ठाउँमा नभएको बताउँदै आएकाले बजेट थप गर्न नसकिएको भुजेलले बताए ।

तर जे जस्ता विवाद आए पनि कुनै पनि हालतमा भवन निर्माण कार्य सम्पनन गर्ने भुजेलले प्रतिबद्धता जनाए । निर्माण कार्य रोकिदा कुनै पनि निकायले चासो देखाएको छैन । नगरपालिकाले अनुगमन समिति बनेपनि हाल सम्म अनुगमन नभएको जनगुनासो बड्दै गएको छ ।



प्रतिक्रिया दिनुहोस्