Logo

लाखे नाच



बुटवल . नेवारी समुदायमा नाचिने परम्परागत लाखे नाच संस्कृतिको संरक्षण र प्रचार प्रसारका लागि गुल्मीका नेवार समुदाय जुटेका छन् ।

गुल्मीको मुसिकोट नगरपालीका नेवाः बरजु पुचः वामी टक्सारले तम्घास, तानसेन र बुटवलमा यसको संरक्षण र प्रचार प्रसार गर्न प्रदर्शन गरेको छ । नेवार समुदायले आफ्नो धार्मिक एवं साँस्कृतिक कार्यक्रमका रुपमा देखाउने लाखे नाच देशका विभिन्न भागमा लोकप्रिय छ । कृष्ण शुक्ल पक्षको नागपञ्चमीदेखि कृष्ण जन्मअष्टमीसम्म लाखे नाच दिनहुँ देखाइन्छ ।

जाजरकोटी राजा उपेन्द्रविक्रम शाहले आफ्नो मनोरञ्जनका लागि नेवार समुदायबाट इतिहास र सामाजिक परम्परासँग जोडिएको लाखे नाच शुरु गराएको इतिहासकार बताउँछन् । काठमाडौँमा १८आँै शताब्दीमा राजा जयप्रकाश मल्लले छोराको मृत्युमा भावविह्वल बनेकी रानीलाई सान्त्वना दिन प्रचलनमा ल्याएको गाईजात्राकै एउटा स्वरुपका रुपमा लाखे नाच रहेको संस्कृविविद् डा गितु गिरी बताउनुहुन्छ ।

उहाँले यो नाचलाई स्थान विशेषका रुपमा फरक फरक शैलीमा प्रस्तुत गर्ने गरिए पनि साँस्कृतिकरुपले यो नेवारी समुदायको पर्वका रुपमा रहेको बताउनुहुन्छ । लाखे नाचका बेला कंशको प्रतीकका रूपमा डरलाग्दो राक्षसी रूप गरेको लाखे र अन्य मुकुण्डोधारी उसका सहयोगी सामूहिकरुपमा नेवारी बाजाका तालमा नाच्ने गर्दछन् । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेल, सामाजिक विकासमन्त्री सुदर्शन बरालसहित प्रदेशसभा सदस्यहरुले गुल्मीको परम्परागत लाखे नाच बिहीबार साझ अवलोकन गर्नुभयो ।

विभिन्न ठाउँमा प्रदर्शन गरिएको लाखे नाच प्रदर्शनबाट रु तीन लाख सङ्कलन भएको र खर्च कटाएर बचेको रकमबाट नेवाः बरजु पुचः अर्थात् समाजको भवन निर्माणमा लगाइने अध्यक्ष मोहनलाल श्रेष्ठले बताउनुभयो । अध्यक्ष श्रेष्ठले नेवा पुचको भवन निर्माणका लागि रकम सङ्कलन गर्ने उद्देश्यले लाखे नाच बुटवललगायत विभिन्न स्थानमा प्रदर्शन गरिएको बताउनुभयो । (तस्बीर उपलब्ध छ ।)
–––



प्रतिक्रिया दिनुहोस्