Logo

‘जटायु रेस्टुरेन्ट’ पर्यटकीय गन्तव्य बन्दै



नवलपरासी । लोपोन्मुख अवस्थामा पुगेको गिद्ध बचाउने अभियानअन्तर्गत नेपालमा सर्वप्रथम सन् २००६ मा नवलपरासीको पिठौलीमा समुदायद्वारा सञ्चालन गरिएको विश्वकै पहिलो ‘जटायु रेस्टुरेन्ट’ स्थापना गरिएको थियोे ।

लोपोन्मुख अवस्थामा पुगेका गिद्धलाई विषादीरहित आहार उपलब्ध गराइ संरक्षण गर्ने उद्देश्यले समुदायस्तरबाटै सञ्चालन र व्यवस्थापन गरिएका यस्ता रेस्टुरेन्ट पछिल्लो समयमा पर्यटकीय दृष्टिले आकर्षक बन्दै गएका छन् ।

जटायु रेस्टुरेन्टको स्थापनापछि गिद्धको सङ्ख्या बढेकोे जानकारी दिँदै नवलपरासी जटायु रेस्टुरेन्ट व्यवस्थापन समितिका संयोजक डिबी चौधरीले पछिल्लो समयमा गिद्धका क्रियाकलाप हेर्न र अनुसन्धान गर्नसमेत पर्यटक आउने क्रम बढेको बताउन्छन ।

नवलपरासी ‘जटायु रेस्टुरेन्ट’को सफलतापछि रुपन्देहीको गैडहवा ताल, दाङको लालमटिया र बिजनौरी, कैलालीको खुटिया, कास्कीको घाँचोक र सुनसरीको रामधुनीमा त्यस्ता रेस्टुरेन्ट स्थापना गरिएका छन् ।

जटायु रेष्टुरेन्टले एकातिर वृद्ध र छाडा चैपायाको रेखदेख गरी पशु कल्याणकारी र लोपोन्मुख गिद्ध बचाउने काम गरेका छन् । त्यस्तै वातावरण स्वच्छ राख्न, पर्या–पर्यटन प्रवद्र्धन र अनुसन्धान केन्द्रको रुपमा विकसित हुदैछन् ।

यसरी खोलिएका रेस्टुरेन्टमा गौरक्षा केन्द्र हुन्छन् जहाँ किसानबाट वृद्ध, अशक्त, बेकामी गाईवस्तु सङ्कलन गरी पालनपोषण गरिन्छ । रेस्टुरेन्टमा राखिएका गाईगोरुको प्राकृतिक मृत्युपश्चात् गिद्धको आहारका लागि निश्चित स्थानमा राखिन्छ । जहाँ गिद्ध आएर खान्छन् । त्यहाँ गिद्धको आनीबानी नजिकबाट लुकेर हेर्ने पर्यटक अवलोकन घर पनि बनाइएको हुन्छ । रासस



प्रतिक्रिया दिनुहोस्