Logo

स्थानीय तहका वार्षिक समीक्षा : सडक नाटकदेखि कुखुरा खोर उपलब्धि



काठमाडौं १६ भदौ । स्थानीय तहले एक वर्षमा गरेका कामको समीक्षा गर्न आयोजित जिल्ला सभामा जनप्रतिनिधिले सडक नाटकदेखि कुखुरा खोर निर्माण गरिएको कार्यलाई उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् । कतिपय स्थानीय तहले कुप्रथाविरुद्ध गरिएका सडक नाटक र हजार दिनका गर्भवती र सुत्केरीलाई कुखुराको खोर निर्माणसम्बन्धी तालिम गरेको कुरालाई पनि गत वर्षको प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरेका हुन्।

१२ वटा स्थानीय रहेको यस जिल्लामा अधिकांशले सिँचाइ, खानेपानीको सुविधा विस्तार, व्यावसायिक तरकारी खेतीको सुरुवातलाई पनि वर्षभरिको मुख्य उपलब्धिका रूपमा प्रस्तुत गरिएको थियो। दुई दिनसम्म सञ्चालन भएको जिल्ला सभा शुक्रबार सम्पन्न भएको हो।

जनप्रतिनिधिहरू निर्वाचित भएपछि स्थानीय तहले गरेका काम र त्यसबाट प्राप्त उपलब्धिहरूको समीक्षा हुने जिल्ला सभामा अधिकांश स्थानीय तहले सडक निर्माणलाई वर्षभरिको प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरे पनि स–साना कामलाईसमेत उपलब्धिका रूपमा देखाएका हुन्।

सुर्मा गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख दानबहादुर बोहराले सुर्मा उच्च माविमा बालविवाह र छाउपडी प्रथाविरुद्ध गरिएको जनचेतनामूलक कार्यक्रम, युनिक मोसन युथ क्लबले पाँचवटै वडामा गरेको कुरीतिविरुद्धको सडक नाटक र गाउँपालिकामा ५ जना अनमी नियुक्त गरेको कुरालाई वर्षभरि भएका ३ वटा उल्लेखनीय कामका रूपमा प्रस्तुत गरेका थिए। सुर्मा गाउँपालिकाले गत वर्ष विभिन्न शीर्षकमा १७ करोडभन्दा बढी रकम खर्च गरेको थियो।

कुखुराको खोर निर्माणसम्बन्धी अभिमुखीकरण तालिम गरेको, महिलालाई तरकारीको बोट वितरण गरेको र इलाका प्रहरी कार्यालय स्थापना कार्यलाई वर्षभरि गरेका उल्लेखनीय तथा प्रशंसनीय कार्यका रूपमा दुर्गाथली गाउँपालिकाले प्रस्तुत गरेको छ। उक्त गाउँपालिकामा गत वर्ष चालु र पुँजीगत गरी करिब २४ करोड रकम खर्च गरिएको थियो।

इलेक्ट्रोनिक हाजिरी, गाउँ विकासको गुरुयोजना निर्माण, शिक्षा क्षेत्रको विकासका लागि गरिएका क्रियाकलापलगायत सामुदायिक नर्सरी निर्माण गरिएका कामलाई पनि स्थानीय तहले वर्षभरिको उपलब्धिका रूपमा पेस गरेका थिए।

स्थानीय तहले गत आर्थिक वर्षमा ५५ करोड विकासमा खर्च गरेको बुंगल नगरपालिकाले अपांगहरूका लागि शिविर सञ्चालन गरेको, क्रिकेट मैदान निर्माण गरेको, बेतबाँसको तालिम सञ्चालन गरेको कुरालाई आफूले गरेका प्रशंसनीय काम भन्दै प्रस्तुत गरेको थियो। बुंगल नगरपालिकाको प्रस्तुति चलिरहँदा बेतबाँसको तालिम नगरपालिकाले नभई गैरसरकारी संस्था आरआरएनले सञ्चालन गरेको भन्दै गैरसरकारी संस्थाका कर्मचारीहरू मुखामुख गरिरहेका थिए।

प्रतिनिधिसभा सदस्य आशा विकले उद्घाटन गरेको जिल्ला सभामा जिसस र स्थानीय तहका प्रतिनिधिहरू, विषयगत कार्यालयका प्रमुखहरू, निश्चित गैरसरकारी संस्था र पत्रकारहरूको उपस्थिति रहेको थियो। कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्