Logo

‘सुखी परिवारको लागि आधुनिक चुलो’ अभियानको थालनी



काभ्रे । परम्परागत चुलोको प्रयोगको कारण स्वास्थ्य र वातावरणमा नकारात्मक असर पर्ने भएकाले पाँचखाल नगरपालिकामा आधुनिक चुलोको प्रवद्र्धन गर्न जनचेतनामूलक अभियान शुरु गरिएको छ । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र तथा ग्लोबर एलाइन्स फर क्लिन कुकस्टोभ्स् जिएसिसीको सहकार्यमा कार्भेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा ‘सुखी परिवारको लागि आधुनिक चुलो’ नाराका साथ तीन महिने अभियान सञ्चालन गरिएको हो ।

अभियानको शुभारम्भ गर्दै पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले परम्परागत चुलोभन्दा एलपी ग्यास राम्रो भएतापनि नेपालको अर्बौं रुपैया विदेश गइरहेकाले त्यसलाई नियन्त्रण गर्न विद्युतीय चुलोलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकाका विपन्न परिवारका लागि खाली ग्यासको सिलिन्डरको सट्टा नयाँ इन्डक्सन चुलो दिने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

उपप्रमुख लक्ष्मी दनुवारले घरभित्रको धुवाँको कारण महिला र बालबालिका बढी मात्रामा पीडित बन्नुपरेको बताउदै आधुनिक चुलो प्रवद्र्धन गर्न नगरपालिकाले सहयोग गर्नेछ भन्नुभयो ।

बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका निर्देशक डा नारायण अधिकारीले सरकारले सन् २०३० सम्म सम्पूर्ण विद्युतीय ऊर्जामा जाने लक्ष्य राखेको उल्लेख गर्दै यस अभियानलाई सफल तुल्याउन केन्द्रले विद्युतीय चुलोको प्रवद्र्धनमा जोड दिएको बताउनुभयो ।

जिएसिसीका नेपाल बजार व्यवस्थापक करुणा बज्राचार्यले देशमा हरेक वर्ष २२ हजार मानिसको मृत्यका कारक घरभित्रको धुवाँ रहेको जानकारी दिनुभयो । समारोहमा लिर्डस् नेपालका धिरज पोखरेल र अजम्बरी विकास फाउन्डेशनका आस्मा बैद्यले घरभित्रको धुवाँले स्वास्थ्यमा पर्ने असरहरुका बारेमा प्रकाश पार्नुभयो ।



प्रतिक्रिया दिनुहोस्