Logo

एशियाली महादेशको ओलम्पिक सम्पन्न



काठमाडौँ । एशियाली महादेशको ओलम्पिकका रुपमा लिइने १८ औँ संस्करणको एशियाली खेलकूद एक हजार ५५२ पदको छिनोफानो गर्दै आज सम्पन्न भएको छ । यही भदौ २ गते जाकार्तास्थित गेलोरा बुङ कार्नो रङ्गाशालमा त्यहाँका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्नुभएको खेल आज सम्पन्न भएको हो । उद्घाटन समारोहलाई रङ्गशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गरेका थिए ।

प्रतियोगितामा ४९ खेल समावेश गरिएको थियो । ४५ देशका ११ हजार ५०० खेलाडीले सहभागिता जनाएको प्रतियोगिता आज सकिँदासम्म ३७ मुलुकले पदक जित्दा आठ मुलुक रित्तोहात घर फर्किएका छन् ।

प्रतियोगितामा नेपालले सहभागिता जनाएको २९ खेलमध्ये प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धामा रजत जित्न सफल भयो । प्याराग्लाइडिङले रजत जितेपछि नेपाल पनि पदकविहीन हुनबाट जोगियो । नेपालले २९ खेलमा सहभागिता जनाउँदा त्यसमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा अफिसियल गरी २८५ जना सहभागी भएका थिए ।

दुई संस्करणबाहेक सबै एशियाडमा सहभागिता जनाएको नेपालले हालसम्म दुई रजत र २२ कास्य गरी २४ पदक जितेको छ । नेपालले सन् १९५४ मा फिलिपिन्सको मनिलामा भएको दोस्रो र १९६२ मा इण्डोनेसियाकै जकार्तामा भएको चौथो संस्करणमा भाग लिएको थिएन । नेपालले हालसम्म तेक्वान्दोबाट एक रजत, १३ कास्य, बक्सिङबाट छ कास्य तथा करातेबाट तीन कास्य र प्याराग्लाइडिङबाट एक रजत जित्न सफल भएको छ ।

नेपालले आर्चरी, एथलेटिक्स, बास्केटबल ९थ्री अन थ्री०, ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ, गोल्फ, जुडो, कराते, कबड्डी, पौडी, तेक्वान्दो, टेबलटेनिस, भलिबल, भारोत्तोलन, उसु, कुराँस, पेनकेक सिलात, कुस्ती, स्क्वास, साइक्लिङ, फूटबल, प्याराग्लाइडिङ, लनटेनिस, सुटिङ, ट्रायथलन, सेपाकताक्रो, स्पोर्ट्स क्लाम्बिङ र स्केटबोर्डमा सहभागिता जनाएको थियो ।

सम्पन्न प्रतियोगितामा चीनले सबैभन्दा धेरै पदक जित्न सफल भयो । चीनले १३२ स्वर्ण, ९२ रजत र ६५ कास्य गरी २८९ पदक जित्न सफल भयो । दोस्रो भएको जापानले ७५ स्वर्ण, ५६ रजत र ७४ कास्य गरी २०५ पदक जित्यो ।



प्रतिक्रिया दिनुहोस्