मोरङ, १८ भदौ । भौतिक पूर्वाधार तथा यातायाततमन्त्री रघुवीर महासेठले ठेक्काको पेश्की लिएर समयमै काम नगर्ने ठेकेदार सांसद भएपनि सरकारले नछाडने दाबी गरे ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरा गर्दै उनले पप्पु कन्सट्रक्सनको कामको बारेमा संसदमा समेत कुरा उठेकाले सरकारको ध्यान त्यसतर्फ लागिसकेको बताए ।
मन्त्री महासेठले पप्पु कन्ट्रक्सन कम्पनीमा सांसद हरिनारायण चौधरीले आफनो संलग्ता नरहेको बताएपनि कानुनबमोजिम त्रुटि देखिए उम्किन नपाउने बताए ।
ठेक्कापट्टाको काम गर्दै राजनीतिमा प्रवेश गरेका चौधरी पर्सा जिल्लामा संघीय समाजवादी फोरमका तर्फबाट निर्वाचित संसाद हुन ।
मन्त्री महासेठले समयमै काम नगर्ने मुलुकभरका १ सय ४२ ठेकेदार कम्पनीलाई १ करोडदेखि ५ करोडसम्म कारबाहीस्वरुप जरिवाना गरिएको जानकारी दिए ।