भक्तपुर ।
लक्ष्मी गुरु
ताकतिङ धँ, ताकतिङ धँ धँ
ताकतिङ धँ, ताकतिङ धँ धँ
ताकतिङ धिंङ, ताकधिंता कति
ताक दिता कता, ख ड्रख धँ धँ तिङ धेलेङ
नेवारी परम्परागत बाजा ‘पछिमा’ को यो ताल सुनेर मोहित नहुने शायद कोही होलान् तर, पछिल्लो समय परम्परागत बाजाको संरक्षणमा युवा पुस्ताको उदासीनताले यस्ता कर्णप्रिय ताल र धूनहरु लोप हुने अवस्थामा पुगेका छन् । यी धरोहरको संरक्षणमा पहिलो पुस्ताका केही गुरुहरु भने अझै तल्लीन भएर लागिरहेका छन् । यस्तै मध्येका एक हुन् – ५३ वर्षीय गुरु लक्ष्मीप्रसाद मानन्धर ।
वाद्यवादन मात्र नभएर देवी नाचको गुरुको रुपमा समेत उहाँले देशभित्र र बाहिर ख्याति कमाउनुभएको छ । अहिले उहाँ नयाँ पुस्तालाई वाद्यवादन र देवी नाच सिकाउने कार्यमा तल्लीन हुनुहुन्छ ।
बुबा रत्नबहादुर मानन्धर र आमा रत्नमायाँका सातमा चौथौं सन्तानका रुपमा भक्तपुर नगरपालिका–३ तेखाचोमा २०२२ सालमा लक्ष्मीप्रसादको जन्म भएको हो । मानन्धरहरुको पुख्र्यौली पेशा तेलको कोल चलाउने हो तर, उहाँको परिवार खेती किसानी गर्थे । त्यसैले उहाँले पनि सानै उमेरदेखि खेतबारीमै आफ्ना नङ्ग्रा खियाउनुभयो ।
उत्साही स्वभावका उहाँले १४ वर्षकै उमेरदेखि वाद्यवादन सिक्न शुरु गर्नुभयो । त्यतिखेर टोल टोलमा देवीदेवताका नाच, ख्याःली प्याखँ, राजकुमारका डबली नाटक मञ्चन गरिन्थ्यो र मनोरञ्जनका साधन यिनै हुन्थे । प्रत्येक वर्ष टोलटोलमा परम्परागत वाद्यवादन र नाचहरु सिकाएर नयाँ पुस्ता तयार पारिन्थ्यो । वाद्यवादन सिक्न थालेको एक वर्ष नपुग्दै बुबाको मृत्यु भएपछि उहाँको यात्रा पनि रोकियो ।
खेतीपाती बाहेक अन्य आम्दानीको स्रोत नहुँदा उहाँले विद्यालयमा पाइला समेत टेक्न पाउनुभएन । “पढ्ने रहर धेरै थियो तर, आर्थिक अवस्था कमजोर हुँदा विद्यालय जाने वातावरण नै बनेन,” उहाँले भन्नुभयो । तीन दाजुभाइमा उहाँ जेठो हुनुहुन्छ । सानैदेखि बुबा सँगसँगै खेतीपातीको काममा लाग्नुपर्दा उहाँलाई विद्यालय जाने अवसर जुरेन । उहाँले भन्नुभयो – “त्यो बेला दुई÷चार रोपनी जग्गामा उत्पादन हुने अन्न खानलाई पुग्दैनथ्यो । आम्दानीको बाटो अरु थिएन ।
त्यस माथि ठूलो छोरा । कसरी विद्यालय जानु रु” आफूले विद्यालय जाने अवसर नपाए पनि भाइबहिनीलाई भने उहाँले पढ्न दिनुभयो ।
मानन्धर समुदायले वर्षेनी मनाउने गुँला पर्व र गुँला धलँलाई ब्यूँताउन उहाँले वाद्यवादन सिक्न शुरु गर्नुभएको थियो । बुबाको मृत्युसँगै उहाँको सपना अधुरो रहन पुग्यो ।
घर खर्च चलाउन लक्ष्मीप्रसादले दैनिक ५० पैसा ज्यालामा सिकर्मीको काम शुरु गर्नुभयो । डेढ वर्षसम्म यसैमा लाग्नुभयो । सिकर्मीको ज्यालाले गुजारा चलाउन सकस भएपछि टोलकै चिउरा मिलमा काम गर्न थाल्नुभयो । एक ड्रम चिउरा कुटेकोे ज्याला बापत दुई रुपैयाँ पचास पैसा आउँथ्यो । घर व्यवहार र भाइबहिनीको पढाइ धान्न खर्च नपुगेर पुख्यौली सम्पत्तिसमेत बेच्नुपर्ने बाध्यता उहाँलाई आइलागेको रहेछ । आर्थिक संकटबाट पार पाउन उहाँले चिया पसल थाप्नुभयो र यसको केही समयपछि उहाँ विवाह बन्धनमा बाँधिनुभयो । त्यसको एकवर्ष पछि वाद्यवादन सिक्ने कामलाई उहाँले निरन्तरता दिनुभयो ।
पहिला सँगै वाद्यवादन सिकेका ६ जना साथीलाई लिएर उहाँले गुरु सूर्य शंकर मानन्धरकहाँ पुग्नुभयो र पुनः प्रशिक्षण लिन थाल्नुभयो । निरन्तरको मेहनत र लगावबाट हारमोनियम, तबलासँगै नौबाजा बजाउन समेत उहाँ निपुण हुनुभयो ।
उहाँले भन्नुभयो – “घरमा आमाले तिमी घरको ठूलो छोरा, सबैको जिम्मा तिमीमै छ भन्ने बोध गराउनुहुन्थ्यो । जे जति गरे पनि घरको आर्थिक अवस्थामा भने सुधार आउन सकेको थिएन । यस्तो अवस्थामा २०४० सालमा घर सल्लाहमै सानो पुँजी लगानी गरेर घरमै चिया पसल खोलें र आम्दानीको नयाँ बाटो रोजें ।
चिया पसल चल्न थालेपछि भने उहाँलाई परिवार धान्न केही सजिलो भयो र र बसुन्धरा मानन्धरसँग मागी विवाह गर्नुभयो ।
उहाँ सम्झनुहुन्छ – “बाजा त सिक्ने तर कसरी ? आफूसँग पैसा छैन । पढ्न लेख्न आउँदैन । बाजा सिक्न बोका, कुखुरा बली दिनुपर्छ । किन्न पैसा छैन ।”
पैसा नभए पनि पैसाको सट्टामा चालम तिरी तिरी उहाँले वाद्यवादन सिक्नु भयो । “साथीहरु सबैले पैसा तिर्ने, मैले चाहीँ चामल तिर्ने, त्यसरी मैले बाजा सिकें,” बाजा सिक्दाका कष्टपूर्ण दिन सम्झँदै उहाँले भन्नुभयो–“बाजा बजाउन बोल भन्न सक्नुपर्ने, बोलअनुसार बाजा बजाउनुपर्ने, लय कण्ठ हुनुपर्ने अनि, मात्र हात बसाल्ने हो ।”
बाजा सिक्न लेखपढ पनि चाहिने भएपछि उहाँले ठूलो वर्णमाला किनेर ल्याउनुभयो र पसलमा बसी बसी लेखपढ गर्न थाल्नुभयो । लाजै नमानी पसलमा आउने ग्राहकसँग सोधी सोधी आफूले सामान्य लेखपढ गर्न सिकेको उहाँ निर्धक्क भएर बताउनुहुन्छ ।
नौ बाजा सिक्न उहाँलाई ६ महिना लाग्यो । त्यसपछि उहाँले मानन्धर समुदायमा २००४ सालदेखि रोकिएको गुलाँ धलँ पुनः सञ्चालन गर्नुभयो । त्यसलाई ३ वर्षसम्म निरन्तरता दिनुभएका लक्ष्मीप्रसाद आफ्नो समुदायको संस्कृति जोगाउन केही योगदान गर्न सकेकामा गर्व महसुश गर्नुहुन्छ ।
नौ बाजा सिकेपछि लक्ष्मीप्रसादलाई भक्तपुरका विभिन्न साँस्कृतिक अवसरमा देखाइने देवी नाचमा बाजा बजाउने अवसर जु¥यो । अहिले देवी नाचको बाजा नाइकेको रुपमा उहाँको पहिचान बनेको छ ।
नौ बाजा बाहेक हार्मोनियम, तबला, भोइलेन्ट, बाँसुरी, धिमे, खिं, दाफाभजनमा समेत उहाँ दखल राख्नुहुन्छ । पढाइ तथा भाषाको ज्ञानको अभावले पटक पटक विदेश जाने अवसर समेत वञ्चित हुनुपरेको तीतो अनुभव उहाँ सुनाउनुहुन्छ ।
उहाँले भन्नुभयो, “बढी लाज मान्ने र पढ्न लेख्न नजान्ने भएकाले पटक पटक आफूलाई आएको विदेश भ्रमणको अवसर समेत गुम्यो । आफूले बजाएको बाजाको ताल रेकर्ड गरी विदेश लिएर जाने तर बोलाउने बेला मलाई थाहै नदिई अर्कै गइदिने १ बाजाको ताल मेरो, अवसर अरुले नै पाउने १”
उपत्यकाका विभिन्न तारे होटलहरुमा हुने साँस्कृतिक कार्यक्रममा थुप्रै पटक पुरस्कृत भइसक्नुभएका गुरु लक्ष्मीप्रसादले नेपालका विभिन्न जिल्लालगायत जापान र फ्रान्स गएर देवी नाच प्रर्दशनको अनुभव संगाल्नुभएको छ ।
यो वर्ष उहाँले भक्तपुर दरबार क्षेत्रको बहटोलमा २१ जनाको समूहलाई देवी नाच सिकाइरहनु भएको छ । यस अतिरिक्त तेखाचो टोलमै ८ जनालाई धाँ, ८ जनालाई पस्ट, ४ जनालाई नगरा, कों खीँ र पछिमा सिकाउँदैं आउनुभएको छ ।