काठमाडौं, १८ भदौ । उपप्रधान एवम् स्वास्थ्यमन्त्री भएपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवप्रति अहिले आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरु चिढिएका छन् ।
मन्त्रालयमा पनि उनको कार्यशैलीलाई लिएर आलोचना सुरु भएको छ । कतिपयले त उनलाई जातीवादमा गएको आरोप लगाउन थालेका छन । उनले तराई–मधेशबाहेक अन्य क्षेत्रलाई त्यति वास्ता नै नगरेको आवाजहरु राजनीतिक वृत्तमा उठ्न थालिसकेको छ ।
मन्त्रालयअन्र्तगर्तका सरुवा तथा बढुवाको जिम्मा उनले स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई लगाएका छन् । आफू भने पार्टीको आन्तरिक राजनीतिक तथा राष्ट्रिय राजनीति र अन्र्तराष्ट्रियस्तरको प्रोजेक्टहरुसँग सहकार्य गर्नमै व्यस्त छन् । उनले मधेशी जनताका मुद्दाका सवालमा सरकारमा सहभागी भएपछि त्यति आवाज उठाएका छैनन् ।
मन्त्री यादवले संविधान संशोधनको एजेण्डालाई अहिले तिलाञ्जली नै दिएका छन् । पद र शक्तिको लागि यादवले जनताका एजेण्डालाई बिर्सिएको अभनेर मधेशका जनताहरुले आरोप लगाउन थालिसकेका छन् ।
अहिले चिकित्सकहरुपनि मन्त्री यादवसँग रुष्ट बनेका छन् । नयाँ कानूनमा आफूहरुलाई अपराधी करारा गर्न खोजिएको भन्दै उक्त कानून संशोधन गर्नुपर्ने मागसहित सम्पूर्ण चिकित्सकहरु अहिले आन्दोलित छन् । तर, उनीहरुसँग वार्ता तथा छलफलको लागि मन्त्री यादवले कुनै चासो नदेखाएको चिकित्सकहरुको आरोप छ ।
मन्त्री यादवलेमात्रै नभई कानुनमन्त्री भानुभक्त ढकालले पनि प्रभावकारी भूमिका तथा आफूहरुसँग समन्वय नगरेकोमा चिकित्सकहरु रुष्ट छन् ।