काठमाडौं २० भदौ । सोमबार बिहान ११ बजे । काठमान्डुको गुहेश्वरी मन्दिरमा मानिसहरूको बाक्लो भीड थियो । विवाहित जोडीहरु मन्दिरबाट बाहिरिन्थे । बिहे गर्न लागेकाहरु घुम्टो ओड्दै भित्रिन्थे । पूजाको थाली बोकेका भक्तजनहरु ओहोरदोहोर गरिरन्थे । मन्दिरभित्र बजिरहने घन्टीको आवाज र पिपलको बोटमा नाच्ने चराको चिरबिरले वातावरण रोमान्चित थियो ।
कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मन्दिरको गेटमा देखापरे । उनका फ्यानहरु सेल्फी खिच्न झुम्मिए । उनीहरु समता स्कुलका सञ्चालक उत्तम संजेलको जन्ती बन्न पुगेका थिए । संजेल र मनोज गजुरेल पनि आइपुगे । त्यही हुलमा ठाँटिँदै आए निलो सुट–पाइन्ट र निलै ह्याट लगाएका एकजना विदेशी । एकछिन सेल्फी खिचेर सेलिबे्रटीहरु मन्दिरभित्र पसे । तर, ती बृद्ध ढोकामा अचानक टक्क रोकिए । गहिरो गरी भित्तामा हेरे । त्यसपछि उनका पाइला अघि बढेनन् । गेटबाहिरै रोकिए उनी । फर्किए लुसुक्क । एकछिन अघि हर्षित मुद्रामा गफिरहेका ती बृद्धको अनुहारबाट एकाएक चमक हरायो । हुरीले ढालेको मकैबारी जस्तै सिताङ्ग देखिए । कुहिरोले छोपेको हिमाल जस्तै अध्यारो देखियो उनको अनुहार । केही बोलेनन् । मलिन अनुहार लिएर बागमतीको किनारतिर गए । नियालेर एकोहोरो हेरिरहे धमिलो बागमती ।
पाँच मिनेटमा सकिने भनिएको बिहे अलि बेरमा सकेर सबैजना बाहिरिए । तर दुलाहा दुलही भित्रै बसे । ती बृद्ध मन्दिरको गेटमा उनीहरुलाई कुर्न थाले । मन्दिरभित्रबाट बाहिरिने प्रत्येक मानिसको अनुहारमा नियालेर हेर्थे । बेलाबेलामा घाँटी तन्काएर मन्दिरभित्र पनि हेर्थे । कहिले बागमती किनारातिर जान्थे, कहिले पीपलको बोटमूनी पुग्थे । कहिले पूजाको सामान बेचिरहेकी युवतीसँग नेपाली भाषामै गफिन्थे । तर पटकपटक आँखा डुलाइरहन्थे, मन्दिरको सिँडीतिर ।
उनको नजिक गएँ । परिचय दिएँ । उनी ७५ वर्षीय बेलायती नागरिक जोन रहेछन् । मन्दिर बाहिरै घुमिरहनुको कारण उनले खोले । ‘म उत्तम संजेलको बिहेमा आएको । तर ऊ त्यहाँ इन्ट्रान्स फर वन्ली हिन्दु (हिन्दुका लागि मात्र प्रवेशाधिकार) लेखिएको रहेछ । त्यसैले भित्र गइनँ’, सूचनातिर देखाउँदै उनले भने ।
उनी बोल्दा बोल्दै भावुक भए । घोसेमुन्टो लगाए । खैरो आँखाको डिलडिलै आँशु टिलपिल टिलपिल हुन थाल्यो । चाउरिएको गालाबाट आँशुको थोपा एकएक गरी खस्न थाल्यो । उनले बिस्तारै भने, ‘के हिन्दु, के बुद्धिष्ट, के क्रिश्चियन, भगवान सबैको एकै हो ।’ त्यसपछि उनी बोलेनन् । चुपचाप बसे । रसिलो आँखाले एकपटक मन्दिरको सिडीतिर हेरे ।
‘मैले गीता पढेको छु । सबै धर्मको किताव पढेको छु । भगवान सबैको एकै हुन्छ । भगवानलाई यसरी भाग लगाउनु राम्रो होइन,’ उनी थरथर कामेको स्वरमा भन्दै थिए, ‘मन दुख्छ नि, किन नदुख्नु ? यो भगवानको घर हो । भगवानको घरमा सबै मान्छे जान पाउनुपर्छ ।’
बिहे पाँच मिनेटमा सकिएन । ३ घन्टा लाग्यो । ११ बजेबाट सुरु भएको उनको प्रतिक्षा २ बजेसम्म चल्यो । सेलिब्रिटीहरु पाँच मिनेटको बिहे सकेर बाहिरिए । तर जोन मन्दिरको गेटमा नवदुलाह दुलहीलाई पर्खिरहे । उनलाई कसैले सोधेनन् । कसैले बोलाएनन् । निम्तो त्यागेर सुटुक्क हिँड्न सक्थे उनी । तर त्यसो गरेनन् । पर्खिरहे गेटमै । मुस्कुराउने कोसिस गर्दै भने, ‘उत्तम निकै व्यस्त छ भित्र । आज उत्तमको विशेष दिन हो । शुभकामना नदिई कसरी जानु ? ’
पूजाको सामान बेचिरहेकी युवतीले जोनलाई टुलमा बस्न भनिन् । उनी टुलमा बसेर गफिन सुरु गरे । गफिँदा गफिँदै अतितका पानाहरु पल्टाउन थाले । तर उनको आँखा भने बेलाबेला मन्दिरको सिँडीतिर दौडिरहन्थे ।
जसले घाउमा मलम लगाए
उनी पेशाले स्टाफ नर्स । लिबिया, सिंगापुर, इन्डोनेसिया हुँदै वि.सं. २०२८ मा नेपाल आइपुगे । त्यसबेला २८ वर्षको हट्ठाकट्डा थिए । डब्लुएचओ (वल्ड हेल्थ अर्गनाइजेशन) मा काम गर्दै उनी यहाँ आइपुगेका थिए । बौद्धको स्वाथ्य सेवा केन्द्रमा स्वास्थ्यकर्मीको माग भएको थाहा पाएपछि गए । प्रधानपञ्च कुलबहादुर शाक्यसँग भेटे । त्यसपछि बौद्ध स्वास्थ्य केन्द्रमा काम थाले । उनले सम्झिए, ‘त्यसबेला ५० पैसामा भर्ना लिइन्थ्यो । त्यति पैसामा सम्पूर्ण सर्भिस फ्रिमा गरिन्थ्यो ।’ त्यही बेलादेखि नेपालीको घाउमा ड्रेसिङ गर्न सुरु गरे जोनले ।
एकदिनको घटनाले उनलाई आज पनि बाराम्बर चिमोटी रहन्छ । बुढेसकालको निन्द्रा बिथोल्न आजभोलि पनि त्यो घटना स्मृतिको एउटा कुनामा आएर चसक्क बिझाउँछ । त्यो दिनको घटनाले जोनको जीवनमा एउटा नयाँ मोड ल्याएको थियो । उनले त्यो दिन सम्झिए ।
साँझको बेला थियो । स्वास्थ्य केन्द्रमा उनी त्यसदिनको अन्तिम समय बिताइरहेका थिए । हस्याङ फस्याङ गर्दै एकजना आए र बौद्धको अध्यारो गल्लीतर्फ लिएर गए । चुक घोम्टिएको जस्तो अध्यारो भ¥याङ मूनिबाट ढ्याङ्ग्रो बजिरहेको आवाज सुने । कोठाभित्र पसे । एकजना बालक अचेत अवस्थामा लडिरहेका थिए । झाँक्री जोडजोडले ढ्याङ्ग्रो बजाइरहेका थिए । जोनले नुन, पानी र थोरै औषधी मिसाएर बालकको जिब्रोमा तप्तप् झारिदिए । एक छिनपछि बालकले आँखा खोले । ढ्याङ्ग्रो बज्न छाड्यो ।
त्यसपछि कोठामा आश्यर्चजनक दृश्य देखे उनले । बालक बाँचेकामा आमाबुवा हर्षित थिएनन् । न दुःखी नै थिए । दुःख र हर्षको बिचमा केही हुन्छ भने त्यही मि श्रणमा डुबेको थियो कोठाको वातावरण । जोनको कानमा कसैले भनिदियो, ‘यो बाँचेर पनि के गर्नु ? पढाउन सकिँदैन । खाना खुवाउन सकिँदैन ।’ भल्ट्याङभुल्टुङ छोराछोरीले भरिएको त्यो कोठाको दर्दनाक अवस्थाले जोनको छातीमा बेस्सरी हिर्कायो । रिङ्टा लागे झँै भयो । जोन सम्झँदै भन्छन्, ‘कुपोषणग्रस्त बच्चाबच्चीहरु थिए । एकजना मरे पनि उनीहरु धेरै चिन्तित थिएनन् ।’ त्यसपछि जोनले गर्भ रोकथाम साधनबारे सल्लाह थिए । साधनबारे त्यो अध्यारो कोठा बिलकुल बेखबर थियो । भारी मन लिएर उनी बाहिरिए ।
भोलीपल्ट बत्तिसपुतलीमा रहेको परिवार नियोजन संघको कार्यालयबाट केही कण्डम र गर्भ निरोधक औषधी लिएर आए । त्यो परिवारलाई दिए । उनले मनमनै त्यही काममा लाग्ने अठोट गरे । भन्छन्, ‘त्यसपछि म स्वास्थ्य सेवा केन्द्रको जागिरसँगै परिवार नियोजन संघमा पनि काम गर्न थालेँ ।’
संघमा आवद्ध भएपछि उनी सिन्धुपाल्चोक पुगे । रामेछाप पुगे । यादव खरेल र बाशु शशीसँग उनको संगत बढ्यो । उनका अनुसार संघको अध्यक्ष थिइन् पे्रक्षा शाह । सचिव थिए फिल्म निर्देशक खरेल । जगदिश घिमिरे पनि उनका साथी थिए । भन्छन्, ‘उनको पुस्तकमा मेरो नाम छ ।’
स्वास्थ्य केन्द्रको शाखा थियो सिन्धुपाल्चोकस्थित हेलम्बुको नुर्पु गाङ गाउँमा । बौद्धमा भेटिएका त्यसबेलाका जोनका साथी ङिमा दोर्जे लामा (७१) भन्छन्, ‘जोन मोटोघाटो थियो । स्वास्थ्य केन्द्र बनाउन सिमेन्टीको बोरा आफैँ बोक्थ्यो । सुत्केरी पनि धेरै स्याहा¥यो । हाम्रो गाउँमा डाक्टर जोन भनेपछि आज पनि पूराना बुढाबुढीले प्रष्टै चिन्छन् ।’
डेरा बौद्धमा थियो जोनको । सिन्धुपाल्चोक जाने आउने गरिरहे । ह्लोल्मो र तामाङ वस्तीले तान्यो उनलाई । सिन्धुपाल्चोकको गाउँमा घाउमा मलम लगाउँदै बसिरहे । त्यो क्रम ७ वर्षसम्म चल्यो । त्यसपछि निरन्तर नेपाल बसेनन् । बेलायत जाने आउने गरिरहे । पटक–पटक आउँदा–जाँदा करिब १५ वर्ष नेपालमै बित्यो जोनको ।
बेलायतमै छुट्यो परिवार
पहिलो र दोस्रो विश्वयुद्धमा गोर्खा भर्ती केन्द्रमार्फत लाखौं नेपाली युवा अंग्रेजको फौजमा भर्ना भए । कयौंले भिसी र तक्मा पाए । कयौं मलाया र बर्माको जंगलमा हराए । एकजना बेलायती नागरिक भने सिन्धुपाल्चोकको भिरपाखामा औषधी लिएर हिँडिरहे । ङिमा भन्छन्, ‘गाउँमा बाटो राम्रो थिएन । ट्याक्टर चलाउँदै औषधी र सिमेन्टीको बोरा लिएर आउथे । बाटोको ढुंगा आफैँ पन्छाउँथे । हामीलाई काम गर्नुपर्छ भन्थे ।’
सन् १९७७ तिर जोनले गर्लफ्रेण्डलाई नेपाल बोलाएर भने ‘पहिलो नम्बर मेरो काम हो । दोस्रोमा तिमी । यदि राजी छौ भने बिहे गरौं ।’ गर्लफ्रेन्ड राजी भइन् । सम्झिँदै भन्छन्, ‘त्यसपछि हामीले डिल्लीबजारको अड्डामा गएर कोट म्यारिज गर्यौं ।’ एक छोरी र एक छोरा भए उनीहरुका । छोरी अहिले ४० वर्षकी भइसकिन् । उनी भियना बस्छिन् । छोरा ३४ वर्षका भए । इन्टरनेटमा आफ्नी छोरीको नाम सर्च गर्न लगाए । इन्टरनेटमा देखियो छोरीको नाम– जेम्मा कार, कोअर्डिनेटर एण्ड पोस्ट डक्टरल रिसर्च एसिस्ट्यान्स एट भियना युनिभरसिटी अफ टेक्नोलोजी । उनले भने, ‘ श्रीमती बेलायतमा बस्छिन् । डिभोर्स भइसकेको छैन । तर छुट्टिएको धेरै वर्ष भयो ।’ नातिनातिना भइसके । हाँस्दै भने, ‘ओहो ! उनीहरुसँग खेल्न धेरै मन लाग्छ नी ।’ तर, उनको हत्ते नेपालमै छ । अझै ।
कहिलेकाँही बेलायत जान्छन् जोन । छोरीले बोलाउँदा भियना पुग्छन् । केही महिना उतै बसेर फेरि फर्किन्छन् काठमाडौं । काठमाडौं केही दिन बसेर जान्छन् बुढो शरीर लिएर सिन्धुपाल्चोक । पछिल्लो ६ महिनादेखि उनी नेपालमै छन् । पछिल्लो समय नातिनीको जन्मदिन मनाउँन जाँदा श्रीमतीसँग भेट भएको थियो । तर एकदमै थोरै समय । ‘३० सेकेन्ड जतिमात्रै कुरा भयो । हाउ आर यु ? ह्वाट आर यु डुइङ भनिन् यति हो’, उनले सम्झिए ।
उनका अनुसार बेलायतमा उनको केही छैन । ‘मेरो केही पनि छैन बेलायतमा । छोरीले ‘घर किनीदिन्छु आउनू’ भनेकी छिन् । तर मलाई जान मनै छैन’, सुस्तरी भने, ‘बाँकी जीवन नेपालमै बिताउँछु अब ।’ उनको बोलीमा एक्लोपन र उदासी भाव झल्किन्थ्यो ।
बौद्धमा एउटा कोठा छ उनको डेरा । विरक्ति र एक्लोपन उनको साथी बनेको छ । कोही साथी भेट भयो भने घन्टौं गफिन्छन् । सिन्धुपाल्चोकका तामाङ र ह्लोल्मोहरु उनका साथी हुन् । बौद्धका क्याफेमा पूराना साथीहरुसँग पूरानै कुरा गरेर बस्छन् । ‘एकहप्तापछि फेरि सिन्धुपाल्चोक जान्छु’, उनले सुनाए ।
बौद्ध बस्दाबस्दै जोनले उत्तम संजेलबारे कुरा सुने । भेटे पनि । एकसय रुपैयाँमै सम्पूर्ण उपचार गर्ने अस्पताल उनलाई रमाइलो लाग्यो । बेलाबेलामा अस्पताल हेर्न जान थाले । त्यही जाने क्रममा केही दिनअघि उत्तमले आफ्नो बिहेको निम्तो थमाए ।
। बिहेको दिन जोन बिहानै उठे । नुहाए । कैलो दाह्रीजुँगा खौरिए । कोटपाइन्ट लगाए । ह्वाट पहिरिए । त्यसपछि हिँड्दै गुहेश्वरीको गेटमा आइपुगे ।
जोनलाई काठमाडौंको मन्दिरभित्र गैरहिन्दुलाई पस्न मनाही गरिएको थाहा थियो । उनले ठाने– मन्दिरबाहिर बिहेको पार्टी आयोजना गरिने होला । गफैगफमा बिर्सिए सूचना बोर्ड । बृद्ध मस्तिष्कले धानेन सायद । तर जब भित्र पस्न खोजे, त्यसबेला झस्किए ।
परिवारसँग बिछोडिएको नेपालभक्त वृद्ध मन्दिरको गेटमा घन्टौं कुरेर बसिरहे । बेलाबेलामा गहिरो गरी खोक्थे । घरिघरि बागमती भन्दा पारी हेर्थे । भित्रबाट उनले पर्खिरहेको नयाँ दुलाहादुहली अझै आइपुगेनन् ।
‘म एक्लो छु जस्तो लाग्दैन’, उनले भने । सम्वाद रोकियो । मौनता छायो । आँखाभरी आँशु बनाए । आफ्नै लागि बर्जित मन्दिरको सिँडितिर हेर्दै उनले सुस्तरी भने, ‘म एक्लो छैन । मसँग भगवान् छ ।’ अन्नपूर्णपोष्टबाट