Logo

फोहर व्यवस्थापनमा जुटे महिला



बुटवल । बुटवल उपमहानगरपालिकाले शुरु गरेको बुटवल–तिनाउ सरसफाइ अभियानमा सहकार्य गर्दै महिलाले रचनात्मक कामको थालनी गरेका छन् ।महिला मञ्च नेपाल रुपन्देहीले उपमहानगरसँग सहकार्य गर्दै नकुहिने फोहरको व्यवस्थापनका लागि अभियान शुरु गरेका हुन् ।

बुटवल–१२ र १३ बाट नकुहिने फोहर सङ्कलन गर्दै महिलाले शुरु गरेको यो अभियान जिल्लाका अरू नगरमा पनि सञ्चालन गरिने भएको छ । सचेतना, सङ्कलनदेखि व्यवस्थापनसम्मका काममा महिलाले अब स्थानीय नगरपालिकासँग सहकार्य गर्न लागेको अभियानकी प्रमुख तथा महिला मञ्चकी अध्यक्ष मधुकला कुँवरले जानकारी गराएकी छन ।

उपमहानगरपालिकाको आर्थिक सहयोगमा महिला अभियन्ताले त्यस वडाका प्रत्येक घरधुरीमा फोहोरका प्रकृति र त्यसको सङ्कलनका बारेमा सूची र सचेतनासहितको विशेष कार्यक्रमसमेत सञ्चालन गर्ने भएका छन् ।

जितेश्वरी टोलमा आज कार्यक्रमको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नगरवासीको सचेतनासहितको अभियानले आफूहरुलाई समेत हौसला मिलेको बताए ।

महिला अभियन्ताले अब प्लास्टिक, सिसा र प्लास्टिकजन्य फोहरलाई सङ्कलन गरेर व्यवस्थापन गर्ने छन् । उनीहरुले स्थानीयवासीले सङ्कलन गरेका त्यस्ता फोहरलाई खरीद गरेरै लैजाने छन् । महिलाले प्लास्टिकको प्रयोगलाई निरुत्साहित गर्ने, जथाभावी फोहर नफाल्न सचेत बनाउनेदेखि कुहिने फोहोरलाई जैविक मल बनाउन र नकुहिनेलाई व्यवस्थापनको तरिकाका बारेमा सिकाइने महिला मञ्चकी अध्यक्ष मधुकला कुँवरले जानकारी गराईन ।

कार्यक्रम संयोजक मञ्जु बस्नेतले दुई वडाका ५० वटा टोल विकास समितिमार्फत स्थानीयवासी सबैका घरघरमा पुगेर सचेतना कार्यक्रम सञ्चालन गरिने बताएकी छन। नगरपालिकाबाट ४४० र स्थानीय जनसहभागितामा रु ११० सङ्कलन गरी डस्टबिन खरीद गरी उपभोक्तालाई वितरण गरिएको मञ्चका कोषाध्यक्ष तथा अभियन्ता रीता घिमिरेले जनाईन ।

कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसी, प्रवक्ता रामप्रसाद रेग्मी, वडाध्यक्ष दुर्गा सुवेदी र नारायणप्रसाद पुनलगायतले फोहर व्यवस्थापनका लागि नागरिक सचेतनाका विविध पक्षमाथि प्रकाश पारेका थिए ।



प्रतिक्रिया दिनुहोस्